शिक्षकसँग भएका सबै सहमति सम्बोधन गर्छौं : मन्त्री खड्का

आन्दोलनरत शिक्षकसँग वार्ता गर्ने जिम्मा गृहमन्त्री श्रेष्ठलाई

केन्द्रभाग मिडिया

काठमाडौं ।

उपप्रधान तथा रक्षा मन्त्री पूर्णबहादुर खड्काले शिक्षकहरुसँग विगतमा गरिएका सहमतिहरु कार्यान्वयन हुने बताएका छन् ।

नेपाली कांग्रेसका उपसभापतिसमेत रहेका मन्त्री खड्काले पार्टीको केन्द्रिय कार्यसमिति बैठकलाई सम्बोधन गर्दै आन्दोलनरत शिक्षकसँग आज विहान पनि एक चरणमा छलफल भएको र यसअघि भएका सबै सम्झौताहरुलाई विधेयकले सम्बोधन गर्ने बताएका हुन् ।

‘जे–जे कुरामा सहमति भएको छ, उहाँहरुले यो–यो हाम्रो सहमति भएको थियो सरकारलाई विधेयकभन्दा बाहिर गयो, यो कसरी छुट्यो भन्नुभयो भने जे–जे सहमति भएका छन् अहिलेसम्म त्यो सहमति भएको बुँदाबाट सरकार पछाडि हट्दैन,’– उनले भने ।

मुलुकको अहिलेको अर्थतन्त्रले तत्तकाल धान्न नसक्ने कुरा बुझिदिन उनले शिक्षकहरुलाई आग्रह गरे । शिक्षकहरुको समस्या समाधान हुने उनको भनाई छ ।

आन्दोलनरत शिक्षकसँग वार्ता गर्ने जिम्मा गृहमन्त्री श्रेष्ठलाई

सरकारले अनिश्चितकालका लागि आन्दोलनमा उत्रेका शिक्षकहरुसँग वार्ता गर्न गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई जिम्मेवारी दिएको छ ।

आन्दोलनरत शिक्षकहरूले शिक्षमन्त्रीसँग वार्ता गर्न नमानेपछि  गृहमन्त्री श्रेष्ठलाई वार्ता गर्ने जिम्मा दिइएको खड्काले बताए ।

नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा बोल्दै उनले शिक्षकहरुका समस्या समाधान गर्न सरकार तयार रहेको भन्दै कतिपय मागहरु पुरा गर्न कुनै समस्या नरहेको बताए ।

शिक्षा विधेयकमाथि गम्भीर असहमति राख्दै देशैभरिका शिक्षकहरू बुधबारबाट देशव्यापी रूपमा आन्दोलनमा उत्रेका छन् ।

  • ४ आश्विन २०८०, बिहीबार १७:५७ प्रकाशित