शिक्षकलाई आन्दोलन मर्यादित बनाउन गृहमन्त्रीको आग्रह

केन्द्रभाग मिडिया

काठमाडौं ।

गृहमन्त्री नारायणकाजी श्रेष्ठले आन्दोलनमा उत्रिएका शिक्षकहरुलाई आन्दोलन संयमित र मर्यादित बनाउन आग्रह गरेका छन् ।मन्त्री श्रेष्ठले आन्दोलनलाई शान्तिपूर्ण र व्यवस्थित बनाउन अपिल गरेका हुन् ।

उपप्रधान एवम् गृहमन्त्री श्रेष्ठ र शिक्षामन्त्री अशोक कुमार राईसहित शिक्षकका प्रतिनिधिहरुसँग आज बिहान छलफल भएको थियो । छलफल सकारात्मक भएको दावी सहभागीहरुले गरेका छन् । उनीहरुबीच शिक्षकहरुको आन्दोलनलाई मर्यादित बनाउने र छिट्टै औपचारिक वार्तामा बस्ने सहमति भएको छ ।

विद्यालय शिक्षा विधेयकका कतिपय व्यवस्थाप्रति विरोध जनाउँदै बुधबार काठमाडौंमा भेला भएर विरोध प्रदर्शन गरेका शिक्षकहरुका प्रतिनिधिहरुले बिहीबार गृहमन्त्री, शिक्षामन्त्री र शिक्षा मन्त्रालयका सचिवसँग संयुक्त छलफल गरेका थिए ।

छलफलमा उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकारले शिक्षक भएर र शिक्षकले सरकार भएर सोचेर निष्कर्षमा पुग्नुपर्छ र समस्याको समाधान निकाल्नुपर्ने बताएको मन्त्री श्रेष्ठका स्वकीय सचिव विजय गौतमले जानकारी दिए ।

विद्यालय शिक्षा सम्बन्धी कानुनलाई संशोधन र एकिकरण गर्न बनेको विधेयकका केही व्यवस्था संशोधनको माग गर्दै देशभरका शिक्षकहरुले काठमाडौं केन्द्रित आन्दोलन गरेका छन् ।

  • ४ आश्विन २०८०, बिहीबार १४:४८ प्रकाशित