पोखरा ।
गण्डकी प्रदेशमा असोज महिनामा मात्रै सवारी दुर्घटनामा परेर ३६ जनाले ज्यान गुमाएका छन् । प्रदेश भित्र १७३ स्थानमा सवारी दुर्घटना हुँदा २३४ सवारी साधन परे । ती दुर्घटनामा परेर २२ जना पुरुष, ७ जना महिला, ३ बालक र ४ बालिकाले ज्यान गुमाएका हुन् ।
दुर्घटनामा २९१ जना घाइते भएका नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय गण्डकीले जानकारी दिएको छ । कार्यालयका प्रवक्ता थानेश्वर चपाईले उपलब्ध गराएको तथ्यांक अनुसार दुर्घटनामा ८१ जना गम्भीर र २१० जना सामान्य घाइते भएका छन् ।
ट्राफिक नियम उल्लंघन गर्ने सवारीसाधनमाथि कारबाही गरेर प्रहरीले एक महिनामा १ करोड २ लाख ९७ हजार रुपैयाँ राजस्व संकलन गरेको छ । असोज महिनामा प्रहरीले ट्राफिक नियम उल्लंघन गर्ने ११ हजार २२८ वटा सवारीसाधनमाथि कारबाही गरेको छ । त्यसबाट १ करोड २ लाख ९७ हजार रुपैयाँ राजस्व संकलन भएको छ ।
चालकको कारणले १४६ दुर्घटना
तथ्यांक अनुसार असोज महिनामा भएका १७३ दुर्घटनामध्ये १४६ वटा चालकका कारण भएका छन् । तीव्र गति, मादक पदार्थ सेवन र अन्य चालकसम्बन्धी कारणलाई दुर्घटनाको प्रमुख कारकका रूपमा उल्लेख गरिएको छ ।
त्यस्तै, सवारीसाधनको कारणले १२, सडक प्रयोगकर्ताको कारणले ६, सडकको अवस्थाका कारणले पाँच र मौसमका कारणले एउटा दुर्घटना भएको प्रतिवेदनमा उल्लेख छ ।
कार्यालयले असोज महिनामा ४ हजार २६० पटक सवारीसाधन चेकजाँच गरेको छ । त्यस्तै, ट्राफिक व्यवस्थापन तथा दुर्घटना न्यूनीकरणका लागि ३ हजार १८४ पटक ट्राफिक प्रहरी परिचालन गरिएको प्रतिवेदनमा उल्लेख छ ।













