नेताको दोषलाई देखाएर संविधान खराब भन्न पाइँदैन : खगराज अधिकारी

केन्द्रभाग मिडिया

पोखरा ।
नेकपा एमालेका स्थायी समिति सदस्य एवं गण्डकी प्रदेशमा प्रमुख प्रतिपक्षी दलका नेता खगराज अधिकारीले नेताको दोषलाई देखाएर वर्तमान व्यवस्थालाई खराव भन्न नपाइने बताएका छन् । संविधान दिवशको अवसरमा गण्डकी प्रदेश सरकारले आयोजना गरेको विशेष समारोहलाई सम्बोधन गर्दे उनले यस्तो बताएका हुन् ।

उनले वर्तमान संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था उत्कृष्ठ व्यवस्था रहेको धारणा राखे । यस व्यवस्था सञ्चालनका दौरान नेता दोषी हुन सक्ने तर व्यवस्था दोषी हुन नसक्ने उनको प्रष्टोक्ति थियो । प्रदेशमा दलहरुका बीचमा कुनै समस्या नरहेको दाबी गर्दै उनले विगतको एकात्मक व्यवस्थाकै जस्तोगरी चल्न खोज्ने नेपाल सरकारका कारण संघीयता कार्यान्वयनमा समस्या आएको उल्लेख गरे ।

हिजोको मानसिकताबाट नेपाल सरकार मुक्त हुन सकेन भने वर्तमान व्यवस्था र संविधान माथि नै प्रश्नहरु उठिरहने उनको प्रष्टोक्ती छ । ‘हाम्रो बीचमा अन्तरविरोध र अन्तरसंघर्ष होइन । समस्या नेपाल सरकार हिजो संघीयता नआउँदाको अवस्था जसरी नै अगाडि बढ्न खोज्दा आएको हो’ उनले भने । ‘अहिलेसम्म नेपाल सरकारका कतिपय राम्रा कुरा छन् । त्यसको पक्षपोषण गर्न पनि चाहन्छौं । खासगरी नयाँ संरचना प्रदेश हो । प्रदेशको बारेमा उठेका प्रश्न प्रति हामीपनि केही जिम्मेवार छौं । हामी दोषी हुन सक्छौं । व्यवस्था र परिवर्तन दोषी छैन र हुन सक्दैन । यसको दोष संविधानलाई दिन पाइँदैन । संविधान हामीले ल्याएका छौं भनेर जे पायो त्यही गर्ने अधिकार हामीलाई छैन ।

 

  • ३ आश्विन २०८०, बुधबार ११:५७ प्रकाशित