शिक्षा विधेयकको विषयमा छलफल गर्न तयार छौँ : उपप्रधानमन्त्री खड्का

केन्द्रभाग मिडिया

काठमाडौँ ।

उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले मुलुकको मुलुकको संविधानले परिकल्पना गरेको शिक्षा व्यवस्थाको प्रतिकुल नहुने गरी संसद्मा दर्ता भएको शिक्षा विधेयकको बारेमा छलफल गर्न सरकार तयार रहेको बताएका छन् ।

मंगलबार राष्ट्रिय शिक्षा दिवसको अवसरमा काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै कार्यवाहक प्रधानमन्त्रीसमेत रहेका खड्काले मुलुकको अर्थतन्त्रले धान्न नसक्ने मागहरू र मुलुकको संविधानले परिकल्पना गरेको शिक्षाको व्यवस्थाको प्रतिकुल नहुने गरी यी दुई कुरा बाहेक सबै कुरामा सरकार संसद्मा दर्ता भएको विधेयकका बारेमा छलफल गर्न, समाधान निकाल्न तयार रहेको बताएका हुन् ।

उनले भने, ‘मन्त्रिपरिषद्ले शिक्षा विधेयक अघि बढाउने निर्णय गरेकै सन्दर्भमा शिक्षा विधेयक, ऐनसँग सम्बन्धित सम्पूर्ण शिक्षाविद्हरू योसँग जोडिएका महासंघहरु, विभिन्न संगठनहरु, सबैबाट केही महत्त्वपूर्ण सामुदायिक विद्यालय, निजी विद्यालय सबैका तर्फबाट केही महत्त्वपूर्ण कुरा आए । ती कुरालाई सम्माननीय प्रधानमन्त्रीको नेतृत्वमा रहेको वर्तमान सरकारले गम्भीरतापूर्वक लियो । हामीले यसलाई थप छलफल गर्नका लागि केही समय लियौँ । सम्बन्धित सबैसँग हामीले उहाँहरूले उठाएका जायज मागलाई एक महिना छलफल गरेका छौँ । पहिलाको भन्दा अहिले सबैका सुझाव छलफल गरेर अहिले प्रस्तुत विधेयकमा धेरै हदसम्म समावेश गर्ने प्रयास गरेका छौँ ।’

उनले छलफल र सहकार्यबाट समाधान सबै कुरा समाधान गर्न सकिने बताए । कार्यवाहक प्रधानमन्त्री खड्काले मुलुकको वर्तमान अर्थतन्त्र अप्ठ्यारो अवस्थामा रहेकाले अहिलेको अर्थतन्त्रले धान्न नसक्ने मागलाई सम्बोधन गर्न नसकिने स्पष्ट पारे ।

  • २ आश्विन २०८०, मंगलवार १५:४६ प्रकाशित