शिक्षक महासंघद्वारा शिक्षा मन्त्रालयले बोलाएको वार्तामा बस्न अस्वीकार

केन्द्रभाग मिडिया

काठमाडौँ ।

आन्दोलनको घोषणा गरेको नेपाल शिक्षक महासंघले वार्तामा बस्न अस्वीकार गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आज दिउँसो तीन बजेका लागि वार्तामा बोलाएको छ । तर, शिक्षा मन्त्रालयसँग वार्ता गर्नुको औचित्य नभएको महासंघले जनाएको छ ।

महासंघ सह–अध्यक्ष तथा आन्दोलन परिचालन समिति संयोजक नानुमाया पराजुलीले प्रधानमन्त्री तथा व्यवस्थापिकाले बोलाएको वार्तामा मात्र जाने बताइन् ।

‘शिक्षा मन्त्रालयको हातभन्दा बाहिर गइसकेको छ । विधेयक संसद्मा दर्ता भइसकेको छ । विधेयक संसद्मा दर्ता भएपछि शिक्षा मन्त्रालयले बोलाएको वार्तामा जानु औचित्यहीन देखिन्छ । अब हाम्रा मागहरू सम्बोधन गर्ने शिक्षा मन्त्रालयभन्दा बाहिरको विषय बनिसक्यो,’ उनले भनिन् ।

महासंघले शिक्षा विधेयकमा आफ्ना मागहरू नसमेटिएको भन्दै भोलिदेखि काठमाडौँ केन्द्रित आन्दोलनको घोषणा गरेका छन् । त्यसका लागि जिल्ला जिल्लाबाट शिक्षक कर्मचारीहरू काठमाडौँ आउने क्रम जारी रहेको महासंघले जनाएको छ ।

पटक पटक सरकारसँग सहमति र वार्तामा बसेको तर, विधेयक बनाउँदा शिक्षक कर्मचारीहरूलाई मर्का पार्ने गरी आएको महासंघको आरोप छ । महासंघले हालको विधेयकमा संशोधन गर्नुपर्ने विभिन्न १८ बुँदे माग अघि सारेको छ । जसमा सरुवा बढुवा, दरबन्दी, स्थानीय पालिका अन्तर्गत नबस्ने लगायतका मागहरू रहेका छन् ।

महासंघलाई आन्दोलनका कार्यक्रम स्थगित गरेर वार्तामा आउन सरकारले आह्वान गरेको छ ।

  • २ आश्विन २०८०, मंगलवार १४:५८ प्रकाशित