लामाचौर कप भलिबलमा पुरुषतर्फ पुलिस र महिला तर्फ डायमण्ड शीर्षस्थानमा

केन्द्रभाग मिडिया

पोखरा ।
लामाचौरमा जारी राष्ट्रिय भलिबल प्रतियोगितामा महिलातर्फ डायमण्ड र पुरुष तर्फ पुलिस क्लब शीर्षस्थानमा रहेका छन् । नव आदर्श सामुदायिक विकास समाजको आयोजनामा जारी राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगितामा आइतबार राउन्डरोविन लिग चरणको सम्पुर्ण खेल सम्पन्न हुने भनिएपनि सम्भवन नहुँदा फाइनल तथा लिगका अन्य खेल सोमबार (भोलि) हुने भएको छ ।

महिला तर्फ लिगचरण सम्पन्न हुने स्थिति भएपनि अन्तिम खेलमा एपिएफ र पुलिस बिचको खेल प्रकाशका कारण हुन नसक्दा खेल स्थगित हुन पुगेको हो । अन्तिम खेलमा पुलिसले लगातार दुई सेट जित हासिल गर्दै अन्तिम जितको खोजिमा हुँदा एपिएफ खेलमा फर्कदै लगातार दुई सेट आफ्नो पक्षमा पार्न सफल भएको थियो । खेलको अन्तिम सेट चलिरहँदा साझँ भएपछि प्रकाश नपुग्ने भन्दै अफिसियलले खेल सोमबार खेलाउने निर्णय गरेको हो ।

पुलिसले पहिलो सेट २५–२० र दोस्रो सेट २५–२३ ले जितेपनि तेस्रो सेट १९–२५ र चौथो सेट १६–२५ ले गुमाउन पुगेको हो । अन्तिम सेटमा एपिएफले अग्रता लिएको थियो । ७–५ को स्थितिमा खेल चलिरहँदा खेलमा प्रकाश नपुग्ने भएपछि खेल स्थगित भएको हो । उक्त खेल पुनः खेलाइने छ । स्थगित खेल पोखरा रंगशालमा खेलाइने भएको आयोजकले जानकारि दिएको छ ।

आइतबार भएको पहिलो खेलमा पुलिसले चन्द्रागिरी नगरपालिका न्यु डायमण्डलाई ३–२ को सेटमा पाखा लगायो । डायमण्डले २५–१८ ले जितेपनि दोस्रो सेट २०–२५ र तेस्रो सेट १४–२५ ले गुमाउन पुग्यो । चौथो सेटमा २५–२१ जित हात पारेपनि अन्तिम सेटमा १२–१५ को हार व्यहोर्दै कुल तीन खेलबाट ६ अंक बटुलेको छ ।

यस्तै एपिएफले त्यो भन्दाअघि एभरेष्ट भलिबल क्लबलाई सोझो सेटमा हराउँदै तीन अंक जोड्न सफल भयो । एपिएफले २५–१६, २५–१४ र २५–१७ को सहज जित निकालेको थियो । तीनखेलबाट एपिएफको चार अंक रह्यो । एभरेष्ट भने तीन खेलमा तीन हार व्यहोर्दै अंकविहिन रह्यो ।

यस्तै आइतबार नै पुरुषतर्फ भएको खेलमा पुलिसले गलकोटलाई सोझो सेटमा हरायो । पुलिसले २५–१८, २५–२१ र २५–१४ को सहज जित निकालेको हो । अर्को खेलमा गण्डकी प्रदेशले एपिएफलाई ३–१ को सेटमा हराएको छ । पहिलो सेट २३–२५ ले गुमाएको गण्डकीले दोस्रो सेटमा लय समात्दै जित हासिल गरेको हो । गण्डकीले २५–२३, २५–२३ र २५–१९ को जित निकालेको हो ।

प्रतियोगितामा महिलातर्फ ४ नेपाल पुलिस क्लव र शसस्त्र प्रहरीको एपिएफ क्लव, न्यू डायमण्ड क्लव तथा एभरेष्ट भलिबल क्लव बुटवलले सहभागिता छ । त्यसै गरि पुरुषतर्फ गण्डकी प्रदेश, विभागिय टोली नेपाल पुलिस क्लव र शसस्त्र प्रहरीको एपिएफ क्लव, मणिमुकुन्द क्लव बुटवल गरि पाँच टिमको सहभागिता छ ।

लामाचौर कप राष्ट्रिय भलिबल प्रतियोगितामा महिला र पुरुषतर्फ उपाधि विजेता, उपविजेता र तृतिय हुने टिमले क्रमशः नगद रु १ लाख ५० हजार १ सय ११, १ लाख १ सय ११ र ५० हजार १ सय ११ रुपैयाँका साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

  • ३१ भाद्र २०८०, आईतवार २०:३० प्रकाशित