पोखरामा आयोजित तीन दिने तीज सांस्कृतिक महोत्सव सम्पन्न

केन्द्रभाग मिडिया

पोखरा ।

हरितालिका तीजको अवसरमा पोखरामा आयोजित तीन दिने भव्य तीज सांस्कृतिक महोत्सव सफलतापूर्वक सम्पन्न भएको छ ।

पर्यटन महिला व्यवसायी सङ्घ, नेपाल ९टेवान०ले पहिलोपटक आयोजना गरेको गण्डकी प्रदेशस्तरीय तीज महोत्सव स्थानीय उत्पादनको प्रवर्द्धन, महिला प्रतिस्पर्धा र महिला उद्यमी सम्मेलन लगायतका कार्यक्रम गर्दै हिजो (बुधबार) सम्पन्न भएको हो ।

लेकसाइडको कोमागाने पार्कमा भदौ २५ देखि आयोजित महोत्सव भदौ २७ गते अर्थात बुधबारसम्म पोखरामा पर्यटन व्यवसायलाई चलायमान बनाएर सम्पन्न भएको हो । महोत्सवमा गण्डकी प्रदेशका ११ वटै जिल्लाका महिला उद्यमी, स्थानीय उत्पादन र विभिन्न महिला प्रतिस्पर्धात्मक कार्यक्रमसमेत आयोजना गरिएका थिए ।

कोभिड महामारी र आर्थिक मन्दीले सुस्त बनेको पोखराको पर्यटनलाई चलायमान बनाउन टेवानले आयोजना गरेको कार्यक्रममा पोखरा महानगरपालिका, गण्डकी प्रदेश सरकार, पोखरा पर्यटन परिषद्, नाट्टा, टान, रेबान, एनआरएन लगायत सङ्घ संस्थाहरूको सहयोग तथा सहकार्य थियो ।

पहिलोपटक पर्यटनको राजधानी पोखरामा आयोजित तीन दिने तीज महोत्सवमा राधिका हमाल लगायतका राष्ट्रिय तथा स्थानीय कलाकारहरुले पनि बेजोड प्रस्तुति दिएका थिए । महोत्सवमा महिला तीज गीत प्रतिस्पर्धा, दौड, महिला भलिबल प्रतियोगिता, हाजिरी जवाफ प्रतियोगिता लगायतका कार्यक्रम पनि सम्पन्न भएका छन् ।

महोत्सवका क्रममा आयोजना गरिएका महिला दौड, महिला भलिबल प्रतियोगिता र तीज गीत प्रतियोगिताका विजेतालाई पुरस्कारसमेत वितरण गरिएको थियो ।

  • २८ भाद्र २०८०, बिहीबार ०९:४१ प्रकाशित