पोखरा ।
कर्माफ्लाइटस् फाउन्डेसनले नवौं साधरणसभा तथा पाँचौ अधिवेशनको अवसर पारेर मंगलबार उद्धारमा प्रयोग हुने ५ थान क्यामेरा हस्तान्तरण गरेको छ ।
फाउण्डेसनले जिल्ला विपद् व्यवस्थापन समिति कास्की र मुस्ताङ, नेपाल रेडक्रस सोसाइटी कास्की, छोमरोङ पर्यटन विकास समिति र सशस्त्र प्रहरी बलको कालिका गण मालेपाटनलाई १÷१ थान क्यामेरा प्रदान गरेको फाउन्डेसनका फिल्ड संयोजक राजु परियारले जानकारी दिए । उनका अनुसार एभिओन युकेले ६ थान क्यामेरा कर्मा फ्लाइटस्लाई उपलब्ध गराएको थियो । १ थान कर्माले नै राखेको छ ।

विपद्को बेला उद्धारमा निकै प्रभावकारी हुने परियारको भनाइ छ । जमिनमुनी पनि तापक्रमको आधारमा खोज तथा उद्धार गर्न यो क्यामेराले सघाउनेछ । आगलागी भएको ठाउँमा पनि उद्धार गर्न क्यामेरा उपयुक्त हुने परियारले बताए ।
नेपाली बजारमा उक्त क्यामेराको मूल्य झन्डै १ लाख रुपैयाँ पर्छ । गण्डकीका भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री रेशमबहादुर जुग्जालीले ती क्यामेरा सरोकारवालालाई हस्तान्तरण गरे ।

मन्त्री जुग्जालीले सरकारले पनि विपद्धको बेला खोज तथा उद्धारका लागि प्रविधिमा लगानी गर्न आवश्यक रहेको बताए ।
हिमालय स्काइ एडभेन्चरका संचालक माधव तिवारीले संस्थाले मानव सेवामा गरेको कार्य उल्लेख्य रहेको बताए ।
यस्तै, कर्मा फ्लाइटस् फाउन्डेसनले रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकाका अपांगता भएका भीम विष्टलाई ह्विलचियर उपलब्ध गराएको छ । फाउण्डेसनले लायन्स क्लबसँगको सहकार्यमा ह्विलचियर उपलब्ध गराएको हो ।

फाउण्डेसन उपाध्यक्ष सर्मिला शर्माले प्रकृतिको संरक्षण, शिक्षा, स्वास्थ्यमा फाउण्डेसनले काम गरिरहेको जानकारी दिइन् । उनले २०१४ देखी बाट बिभिन्न जिल्लामा परोपकारि भावना विकास गर्न कार्यक्रम संचालन गरेको बताइन् ।
फाउण्डेसनका अध्यक्ष लक्ष्मणबहादुर थापाको अध्यक्षतामा कार्यक्रम भएको थियो । कार्यक्रममा विभिन्न क्षेत्रमा योगदान दिएका व्यक्तीहरुलाई सम्मान गरिएको थियो ।














