एसिया कप–२०२३

नेपाल द्वारा भारत सामु २३१ रनको चुनौती

केन्द्रभाग मिडिया

पोखरा ।

नेपालले भारतविरुद्ध २३१ रनको लक्ष्य प्रस्तुत गरेको छ । जारी एसिया कप–२०२३ मा नेपालले आफ्नो दोस्रो खेलमा आज ४८.२ ओभरमा सबै विकेट गुमाएर २३० रनको योगफल खडा गरेको हो ।

टस हारेर ब्याटिङमा आएको नेपालका लागि आसिफले ५८ रनको योगदान दिए । एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा आसिफको यो १० औं अर्धशतक हो । भारतका मोहम्मद सिराजले गरेको दोस्रो ओभरको पहिलो बलमा विराट कोहलीबाट एक रनमा खेलिरहेका आसिफको क्याच छुटेको थियो । कोहलीबाट पाएको जिवनदान सदुपयोग गरेका आसिफले ९७ बलमा आठ चौका प्रहार गरे ।

भारतविरुद्ध नेपालका ओपनरद्वय आसिफ र कुशल भुर्तेलले उत्कृष्ट सुरुआत दिलाएका थिए । यी दुईले ९.५ ओभरमा ६५ रनको साझेदारी गर्दै पहिलो पावर प्लेमा भारतीय बलिङलाई दबाबमा राखेका थिए । तर, ९.५ ओभरमा कुशल भुर्तेल आउट भएपछि नेपालले यो लयलाई अन्त्यसम्म कायम राख्न सकेन ।

भारतविरुद्ध आक्रामक रुपमा प्रस्तुत भएका कुशल भुर्तेलले २५ बलमा तीन चौका र दुई छक्कासहित ३८ रन बनाए । कुशल पनि इनिङको पहिलो ओभरको छैटौं बलमा क्याच आउट हुनबाट जोगिएका थिए । मोहम्मद सामीले गरेको पहिलो ओभरको छैटौं बलमा कुशल भुर्तेलको क्याच स्लिपमा श्रेयस ऐयरले छोडेका थिए ।

नेपाली टिमको खातामा दीपेन्द्रसिंह ऐरीले २९ रन थपे । १४४–६ को अवस्थामा नेपालको स्कोरबोर्ड रहँदा दीपेन्द्रले सोमपाल कामीसँग ५० रनको साझेदारी गर्दै नेपाललाई सम्मानजनक योगफलसम्म डोहोर्याएका थिए । सोमपाल कामीले ५६ बलमा एक चौका र दुई छक्कासहित ४८ रन थपे ।

गुल्सन झाले ३५ बलमा तीन चौकासहित २३ रन थपे । नेपालका अन्य ब्याटरको प्रदर्शन भने उल्लेखनीय रहेन । कप्तान रोहित पौडेल भारतविरुद्ध पनि ब्याटिङमा चल्न सकेनन् । उनी पाँच रनमा पभेलियन फर्किए । आरिफ सेखको स्थानमा मौका पाएका भीमले पनि टिमको खातामा सात रनमात्र थपे । सन्दीप लामिछानेले नौ रन बनाए । कुशल मल्ल दुई रन र ललितनारायण राजवंशी शून्यमै आउट हुँदा करण केसी दुई रनमा अविजित रहे ।

भारतका रविन्द्र जडेजा र मोहम्मद सिराजले समान तीन विकेट लिए । हार्दिक पन्ड्या, शार्दूल ठाकुर र मोहम्मद सामीले समान एक विकेट लिए ।

एसिया कपमा यसै संस्करणबाट ‘डेब्यु’ गरेको नेपाली टिमले सन् १९८३ र २०११ को विश्वकप विजेता समेत रहेको भारतविरुद्ध पहिलोपटक एकदिवसीय अन्तर्राष्ट्रिय मान्यताप्राप्त क्रिकेटमा प्रतिस्पर्धाका लागि उत्रिएको हो ।

आजको खेल जिते नेपाली क्रिकेटले नयाँ इतिहास रच्दै एसिया कपको ‘सुपर फोर’मा स्थान बनाउनेछ । सुपर फोरमा प्रवेशका लागि भारतमाथि आज जित्नै पर्ने दबाब छ ।

  • १८ भाद्र २०८०, सोमबार २०:०७ प्रकाशित