काहुँखोला–सिक्लेस सडक एक सातादेखि अवरुद्ध, स्थानीयलाई सास्ती

केन्द्रभाग मिडिया

File photo

कास्की । कास्कीको मादी गाउँपालिकाको पर्यटकीय स्थल सिक्लेस जाने सडक पहिरोका कारण एकसातादेखि अवरुद्ध हुँदा स्थानीयलाई आवागमनमा सास्ती भएको छ । मादी गाउँपालिका–६ चिप्लीखोलामा गएको पहिराले काहुँखोला–सिक्लेस सडकखण्ड पूर्णरुपमा अवरुद्ध भएको छ ।

एकसातादेखि सडक अवरुद्ध हुँदा मादीका उत्तरी गाउँका नागरिकलाई पोखरासम्म आवागमनमा सास्ती भएको छ । मादी–६ का वडाध्यक्ष डिलबहादुर क्षेत्रीले निरन्तररुपमा पानी परिरहेकाले सडक सञ्चालनमा समस्या भएको बताएका छन् । पहिरो खस्ने क्रम नरोकिएकाले पानी पर्न बन्द भएपछि मात्रै सडक सञ्चालनका लागि पहल गरिने उनले बताए ।

सडक अवरुद्ध भएकाले यात्रुले गन्तव्यमा पुग्नका लागि दुई वटा गाडी परिर्वतन गर्नुपर्ने बाध्यता रहेको छ । पहिरो गएको स्थानसम्म पोखराबाट गएर झोलुङ्गे पुल हुँदै १० मिनेटको बाटो हिँडेपछि अर्को सवारी साधनमा चढेर गन्तव्यमा पुग्ने व्यवस्था मिलाइएको वडाध्यक्ष क्षेत्रीले जानकारी दिए । उनका अनुसार पहिराले ७० मिटर जति सडकमा क्षति पुर्‍याएको छ । पहिरो पन्छाएर सडक सञ्चालनका लागि गाउँपालिकाले जनशक्ति तथा अन्य आवश्यक सामग्री र लागत तयारी अवस्थामा राखेको उनले जानकारी दिए ।

 

  • ११ भाद्र २०८०, सोमबार १४:५८ प्रकाशित