सरकार गठनमा सकस

कोशी प्रदेशका सभामुख गौतमले राजीनामा दिने

केन्द्रभाग मिडिया

विराटनगर ।

कोशी प्रदेशका सभामुख बाबुराम गौतमले पदबाट राजीनामा दिने भएका छन् । मुख्यमन्त्रीमा दाबी गर्न गठबन्धनलाई बहुमत पुर्‍याउन सभामुखले मंगलबार राजीनामा दिने भएका हुन् । सभामुख गौतमले प्रदेश प्रमुख परशुराम खापुङसमक्ष राजीनामा बुझाउने तयारी गरेका छन्।नेपाली काँग्रेस कोशी प्रदेशका प्रमुख सचेतक भूपेन्द्र राईले सभामुखले राजीनामा दिएपछि बहुमतसहित सरकार गठनको दाबी प्रदेश प्रमुखसमक्ष आजै पेस गर्ने बताए ।

कोशी प्रदेशमा बहुमतको नयाँ सरकार गठनका लागि दाबी पेश गर्न प्रदेश प्रमुख परशुराम खापुङले दिएको समय आज सकिँदै छ ।संविधानको धारा १६८ को उपधारा २ अनुसार सरकार गठनका लागि दिएको समय आज अपराह्न ५ बजे सकिने छ ।

सभामुखको समेत समर्थनमा मुख्यमन्त्री बनेका नेपाली कांग्रेसका उद्धव थापाको नियुक्ती सर्वोच्च अदालतले बदर गरिदिएपछि कोशीमा नयाँ सरकार गठनको प्रक्रिया सुरु भएको हो ।

आज साँझसम्म बहुमत सांसदको हस्ताक्षर जुटाउने दलका नेतालाई प्रदेश प्रमुख परशुराम खापुङले मुख्यमन्त्री बनाउने छन् । तर, बहुमत जुटाउन भने दलहरुलाई कठिन देखिएको छ ।

९३ सदस्यीय कोशी प्रदेशमा बहुमतका लागि ४७ सांसदको आवश्यकता पर्दछ । कांग्रेस नेतृत्वको गठबन्धनसँग सभामुख बाहेक ४६ सांसद छन् भने नेकपा एमालेसँग ४० तथा राप्रपासँग ६ जना सांसद रहेका छन् । राप्रपालाई फकाएर सरकार बनाउने प्रयास बिफल भएपछि केन्द्रको सत्ता गठबन्धन अहिले प्रदेश सभामुख बाबुराम गौतमलाई राजीनामा गराएर सरकार गठन गर्ने तयारी भएको छ ।

गत असार २१ गते पनि थापाको नेतृत्वमा सरकार गठन भएको थियो । सभामुखको छुट्टै हस्ताक्षर प्रयोग गरेर सरकारमा दाबी पेस गरेपछि सर्वोच्च अदालतले मुख्यमन्त्रीको नियुक्तिको बदर गर्दै नयाँ सरकार गठन गर्न परमादेश दिएको थियो ।

  • १६ श्रावण २०८०, मंगलवार ११:१३ प्रकाशित