सप्तरी ।
जग्गाधनीलाई जानकारी नै नदिइ जग्गा बिक्री गर्ने कर्मचारीसहित पाँच जनालाई कैद सजाय भएको छ । राजविराज नगरपालिका ७ को करोडौँ रुपैयाँ पर्ने तीन कठ्ठा नौ धुर जग्गा कीर्ते गरी बिक्री गर्ने कार्यमा सलंग्न मालपोत कार्यालय सप्तरीका नायब सुब्बा राजविराज ५ का सीताराम चौधरी र कार्यालय सहायक राजविराज ९ का हरिनारायण शर्मालाई बुधवार जनही ६ वर्ष कैद सजाय भएको छ ।
कीर्ते गरेकोमा एक वर्ष, कर्मचारी भएकाले थप दुई वर्ष र ठगी गरेकोमा तीन वर्ष गरी ६ वर्ष कैद सजाय भएको सप्तरी जिल्ला अदालतका सूचना अधिकारी भरतमणि पोखरेलले जानकारी दिनुभयो । अर्का कर्मचारी सुनसरी दुहबी ४ का उद्धव खतिवडाको कारागारमै ज्यान गएकाले उनको हकमा मुद्दा खारेज भएको छ । कीर्ते जालसाजी मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका ५८ वर्षीय नायब सुब्बा खतिवडाको २०७८ पुस २ गते ज्यान गएको थियो । उनी २०७५ साउनदेखि नै पुर्पक्षका लागि राजविराज कारागारमा थुनिएका थिए ।
खतिवडासँगै थुनामा रहेका चौधरी र अर्का कर्मचारी हरिनारायण शर्माको कैद अवधि अझै दुई वर्ष बाँकी छ । फरार रहेका शर्मा अदालतमा हाजिर भएपछि २०७५ कात्तिक १३ गतेदेखि थुनामा छन् । करारका कर्मचारी शर्मा श्रेस्तामा कैफियत लेखी फोटो टाँसेर फाँटवालामा पेस गर्ने गर्दथे ।
यसैगरी जग्गा खरिद बिक्रीमा संलग्न राजविराज ७ गजेन्द्र चोककी देवरानीदेवी दास र डाक्नेश्वरी नगरपालिका ८ घर भइ अहिले राजविराज ७ मा घर बनाइ बसेकी घुरनीदेवी साहलाई चार वर्ष कैद सजाय भएको छ । दास र साहलाई कीर्ते गरेकोमा एक वर्ष र ठगी गरेकामा तीन वर्ष गरी चार वर्ष कैद सजाय भएको अदालतले जनाएको छ ।
प्रहरीद्वारा २०७५ असार ३२ गते पक्राउ परेकी दास २०७५ साउन १७ गते १५ लाख पाँच हजार रुपैयाँ धरौटी राखी पुर्पक्षका लागि तारेखमा रिहा भएकी थिइन् । घुरनीदेवी भने २०७५ पुस ३० गते साढे सात लाख रुपैयाँ धरौटी राखी पुर्पक्षका लागि तारेखमा रिहा भएकी थिइन् ।
यस्तै २०७५ असार १९ गते पक्राउ परि साउन १७ गतेदेखि पुर्पक्षका लागि थुनामा रहेका राजविराज ११ का ७८ वर्षीय फुदन साहको कैद सजाय अवधि चार वर्ष पूरा भएको छ । कैद सजाय भुक्तान भएकाले उनी रिहा भएका छन् । उनका छोरा शङ्कर साह तेली र शर्माका नातेदार उपेन्द्र शर्मा फरार रहेका छन् ।
उनीहरूले राजविराज नगरपालिका ७ की ६९ वर्षीया उषा अर्यालको करोडौँ रुपैयाँ पर्ने तीन कठ्ठा नौ धुर जग्गा बिक्री गरेका थिए । अमेरिकामा रहेकी अर्याललाई थाहै नदिइ एक महिनामा दुई पटक उनको जग्गा बिक्री भइसकेको थियो । उहाँले आफ्नो जग्गा खोजी गर्दा अर्कैको नाममा पुगिसकेको थाहा पाएपछि न्यायका लागि प्रहरीसमक्ष पुग्नुभएको थियो । कीर्ते गरी आफ्नो नाममा जग्गा ल्याइ बिक्री गर्ने फुदन साह र खरिद गर्ने देवरानी दासलाई प्रहरीले पक्राउ गरेसँगै कर्मचारीसहितको संलग्नताको रहस्य खुलेको हो ।












