ठमेलबाट समातिएका २० विदेशी महिला डिपोर्ट

केन्द्रभाग मिडिया

काठमाडौं ।

ठमेलबाट पक्राउ परेका २० विदेशी महिला एक वर्ष नेपाल आउन नपाउने गरी डिपोर्ट भएका छन् ।

ठमेल क्षेत्रमा अनैतिक क्रियाकलाप तथा अभद्र व्यवहार गर्ने र यौनधन्दामा लागेको आरोपमा २० जना युगाण्डाका महिला पक्राउ परेका थिए । ११ चैमा समातिएका उनीहरुलाई अभद्रको कसुरमा प्रहरी वृत्त सोह्रखुट्टेबाट मुद्दा चलाइएको थियो ।

अभद्रको कसुरमा जिल्ला प्रशासन कार्यालयले उनीहरुलाई १० हजार धरौटीमा रिहा गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईले बताए ।

प्रशासनको आदेशपछि छुटेका उनीहरुलाई अध्यागन विभाग बुझाइएको थियो । अध्यागमनले एक वर्ष नेपाल आउन नपाउने गरी डिपोर्ट गरेको हो ।युगाण्डाका यी महिलाहरु काठमाडौं महानगरपालिका–२६ फायरचोकस्थित सडकखण्डबाट पक्राउ परेका थिए ।

बाटो हिंड्ने विदेशी तथा स्वदेशी पर्यटक, सर्वसाधरण पुरुषहरूलाई अनावश्यक रुपमा बाटो छेकी अश्लिल क्रियाकलाप सम्बन्धी मोलमोलाइ गरी दुख दिइरहेको अवस्थामा फेला पारी नियन्त्रणमा लिइएको प्रहरीले जनाएको थियो ।

  • ४ बैशाख २०८३, शुक्रबार १७:०५ प्रकाशित