आइतबार ९५ अंकले बढेको सेयर बजारको वृद्धि एकदिन पनि टिक्न सकेन । सोमबार सेयर बजार खुल्दा परिसूचक नेप्से केही बढे पनि बन्द हुँदा भने २३.८५ अंकले घटेको छ । सो अंकको गिरावटपछि नेप्से १९३३ अंकमा कायम भएको छ । आइतबार २ अर्ब १९ करोडको कारोबार भएको थियो भने सोमबार भने २ अर्ब ४ करोड रुपैयाँको मात्रै कारोबार भयो ।
कुल २२९ कम्पनीको सेयर दोस्रो बजारमा खरिद बिक्री हुँदा सोमबार जम्मा २४ कम्पनीको सेयर मूल्य बढेको छ भने १६८ कम्पनीको मूल्य ओरालो लागेको छ ।
सोमबार ४३ हजार १२२ कारोबार मार्फत ५६ लाख ४१ हजार कित्ता सेयर दोस्रो बजारमा खरिद बिक्री हुँदा कुल कारोबार रकम आइतबारको भन्दा घटेर २ अर्ब ४ करोड ४८ लाखमा सीमित भएको छ । कारोबारमा आएका १३ मध्ये लगानी र लाइफ इन्स्योरेन्सबाहेकका सबै उपसमूह राताम्मे रह्यो ।
कारोबार रकमका आधारमा नागरिक लगानी कोष, हिमालयन डिस्टिलरी, लाइफ इन्स्योरेन्स कर्पोरेसन, नबिल बैंक र एसियन लाइफ इन्स्योरेन्स कम्पनी क्रमशअगाडि रहे ।