ओलीलाई भरतपुरकी मेयर दाहालले भनिन्,‘दुई पटक माओवादीले नै प्रधानमन्त्री बनाएको हो, ठूला कुरा नगर्नुहोस्’

केन्द्रभाग मिडिया

चितवन ।

भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई ठूला कुरा नगर्न चेतावनी दिएकी छन् । हिजोमात्र भरतपुर पुगेर ओलीले छोरीलाई कांग्रेस र बाबु (प्रचण्ड)लाई एमालेले बोक्दा पछुतो भएको बताएका थिए । त्यसैको जवाफ दिँदै उनले माओवादीकै सहयोगमा दुई दुई पटक प्रधानमन्त्री बन्न पाएका व्यक्तिले ठूला कुरा गरेको नसुहाउने भन्दै यस्तो चेतावनी दिएकी हुन् ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पुत्री समेत रहेकी उनले भनिन्, ‘इतिहासमा दुई पटक माओवादीकै सहयोगमा प्रधानमन्त्री बनेकाले ठूला कुरा नगरेकै बेस । विगतमा ओलीका लागि भोट माग्दै प्रचण्ड झापासम्म पुग्नु भएको थियो। त्यहीबेला हामीले भाइलाई गुमाउनु परेको थियो।’

मेयर दाहालले आफ्ना बुवा प्रचण्ड घरमा बिरामी छाडेर पनि ओलीका लागि भोट माग्न २०७४ सालमा झापासम्म पुगेको स्मरण गरिन्। ‘ओलीलाई भोट माग्न अध्यक्ष प्रचण्ड झापा जाँदा घरमा पार्किन्सनकी बिरामी आमा मात्रै हुनुहुन्थ्यो । त्यही बेला मध्यराति भाइको स्वास्थ्यमा अचानक समस्या आएर दुःखद घटना भयो । घरमा परिवारका सदस्य कोही नभएका बेलामा सबै चुनावी मैदानमा । के थाहा ? समयमै अस्पताल लैजान पाएको भए भाइको ज्यान जोगिन सक्थ्यो कि ?’

परिवारमा अनेक समस्याबीच पनि प्रचण्डले ओलीलाई प्रधानमन्त्री बनाएको जिकिर उनले गरेकी छन् । माओवादीसँगको सहकार्यले मात्रै ओली प्रधानमन्त्री बन्न सफल भएको उनले दाबी गरेकि छन्। ‘झण्डै दुईतिहाइको सरकार के ओली एक्लैले बनाएको हो ? हो भने हामीले साथ छोडिदिँदा त सबै गर्ल्यामगुर्लुम ढल्यो त’ उनले भनेकी छन्, धेरै नै फुर्ती लाउनेले अब बनाएर देखाए भइगयो त।’

ओलीले प्रचण्डको गृहजिल्ला पुगेर आफूले दुई दुई पटक भोट मागेर जिताएको बताएका थिए। उनले प्रचण्डका लागि अब त्यस्तो गल्ती नदोहोर्‍याउने बताएपछि रेणुले आक्रोश पोखेकी हुन्।

  • १६ कार्तिक २०७८, मंगलवार १३:०५ प्रकाशित