जबरामाथि महाभियोग लगाऔँ : वृहत नागरिक आन्दोलन

केन्द्रभाग मिडिया

काठमाडौं ।

बृहत् नागरिक आन्दोलनले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरामाथि महाभियोग लगाउन आग्रह गरेका छन् ।

वुहत नागरिक आन्दोलनले आज प्रेस विज्ञप्ति जारी गर्दै जबरा न्यायपालिकाको नेतृत्व दिन अक्षम भएको भन्दैँ उनीमाथि महाभियोग लगाउन राजनीतिक दलहरूको ध्यानाकर्षण गराएको हो ।

‘वर्तमान संकट निदानका लागि जागृत बार एशोसिएसनहरू, पूर्व प्रधानन्यायाधीशहरू, वरिष्ठ अधिवक्ताहरू, न्यायाधीश समाजको आह्वानलाई समर्थन गर्दै हामी न्यायपालिकाको नेतृत्व दिन अक्षम प्रधानन्यायाधीश जबरामाथि महाअभियोग लगाउन राजनीतिक दलहरूको ध्यानाकर्षण गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ ।

बृहत् नागरिक आन्दोलनले न्यायालयमाथि सिर्जित संकट राजनीतिक दलहरूको राज्य सञ्चालन कौशलको अभाव तथा आचरणको उपज भएको ठहरसमेत गरेको छ ।

सर्वप्रथम दलहरूले आफूलाई बदल्ने अठोट गर्नुपर्छ,’ विज्ञप्तिमा भनिएको छ, ‘संसदीय सुनुवाइ समितिबाट अनुमोदनको मापदण्ड तय गर्ने तथा भागबण्डामा न्यायाधीश नियुक्तिको प्रथा बन्द गर्नेबारे प्रमुख दलहरूले आफ्नो दृष्टिकोण प्रष्ट गर्नु अपरिहार्य छ ।’

न्यायाधीश नियुक्तिबारे संवैधानिक परिषद् र न्याय परिषद्का संरचना पुनरावलोकन तथा न्यायपालिकाप्रति जनभरोसा कायम गर्न आवश्यक पारदर्शीपूर्ण जवाफदेहिताको संयन्त्रबारे संविधान संशोधन गर्ने आवश्यकता दलहरूले आत्मसात गर्नुपर्नेमा पनि नागरिक आन्दोलनले जोड दिएको छ ।

त्यसका निम्ति अविलम्ब संसद बसाली न्यायवेत्ता तथा न्याय क्षेत्रसम्बद्ध विशेषज्ञ तथा सरोकारवालाहरूसँग परामर्शसहित पहल गर्न विज्ञप्तिमार्फत ध्यानाकर्षण गराइएको छ ।

  • १० कार्तिक २०७८, बुधबार १४:२५ प्रकाशित