पोखरा–१७ को वडा कार्यालय भवन शिलन्यास

केन्द्रभाग मिडिया

पोखरा ।
पोखरा महानगरपालिका वडानम्बर १७ को प्रशासनीक भवनको शुक्रबार शिलन्यास गरिएको छ । महानगर प्रमुख धनराज आचार्यले पोखरा–१७ पार्दीमा भवनको शिलन्यस गरेका हुन् । पोखरा उपत्यका नगर विकास समितिले वडा कार्यालय निर्माणका लागि जग्गा उपलब्ध गराएको हो ।

शिलन्यास भएको मितिले एक वर्ष भित्र निर्माण सम्पन्न गर्ने गरी नेचुरच फर्नीसिङ एण्ड कन्स्ट्रक्सन प्रा.लि. काठमाडौँले भवनको ठेक्का पाएको छ । भ्याट र पिएससहति ५ करोड ३२ लाख ५४ हजार ५१३ रुपैयामा तीन तलाको भवन निर्माण हुने महानगर भवन शाखाका प्रमुख लक्ष्मी प्रसाद गौतमले जानकारी दिए ।

भवन शिलन्यास कार्यक्रममा बोल्दै महानगर प्रमुख धनराज आचार्यले तोकिएको मितिमा काम सम्पन्न गर्न निर्माण कम्पनीलाई आग्रह गरे । वडा भवनको शिलन्यास भएकै कम्पाउण्डको ४३ रोपनी क्षेत्रफलमा महानगरको प्रशासनिक भवनको पनि छिट्टै शिलन्यास गरीने आचार्यले जानकारी दिनुभयो । सेवा प्रवाहका लागि कार्यालय व्यवस्थापन महत्वपूर्ण भएकाले सबै वडाका प्रशासनीक कार्यालय आफ्नै कार्यकाल भित्र निर्माण गर्ने आर्चायले प्रतिवद्धता गरे ।

महानगर उपप्रमुख मञ्जु देवी गुरुङले सबै भन्दा धेरै जनसंख्या भएको  वडा (१७ नम्बर वडा)को सेवा प्रवाह दिने कार्यालय व्यवस्थित हुनुपर्ने बताइन् । जनतालाई सेवा दिन सहज होस् भनेर वडालाई अधिकार धेरै दिइएको र सहज कार्यसम्पादन गर्नको लागि व्यवस्थित कार्यालय आवश्यक रहेको गुरुङको भनाई थियो । लामो समयको प्रयास पछि वडा कार्यालयको भवन बनाउन सफल भएको गुरुङले बताइन् ।

वडानम्बर २ का वडाध्यक्ष दिवशमान प्रधानाङगले सबै मिलेर वडाको विकासमा लाग्नुपर्ने भन्दै वडावासी र जनप्रतिनिधिको सहकार्य आवश्यक रहेको बताए ।

वडानम्बर १७ वडाध्यक्ष राधिका शाहीले अधिल्लो वडाअध्यक्षको नेतृत्व देखिनै वडा कार्यालय बनाउने प्रयास अहिले सफल भएको बताइन् ।

 

  • २९ असार २०८०, शुक्रबार १९:२६ प्रकाशित