पोखरा ।
पोखरा विश्वविद्यालय स्कुल अफ हेल्थ एण्ड एलाईड साईन्सेज अन्तर्गत जनस्वास्थ्य संकाय तेस्रो वर्ष छैटौं सेमेस्टरमा अध्ययनरत विद्यार्थीहरुले स्वास्थ्य निरुपण कार्यक्रम गरेका छन् ।
उनीहरुले गोरखाको पालुङटार गाउँ पालिका, वडानं चार स्थित बार्ह्रपिर्के , कुमालगाउँ तथा देवकोटा भन्ने स्थानमा एक महिने स्वास्थ्य निरुपण शिर्षकमा समुदाय स्तरमा स्वास्थ्य सम्बन्धी विभिन्न जनचेतनामुलक कार्यक्रमहरु सञ्चालन गरेका हुन्।
सुक्ष्म स्वास्थ्य परियोजना अन्तर्गत सञ्चालित कार्यक्रममा लिडिन लाईट युवा क्लवको संयोजन रहेको थियो। पालुङटार, चार स्थित, बार्ह्रपिर्के देखि कुमालगाउँ सम्म स्वास्थ्य सरसफाई अभियान अन्तर्गत , स्वास्थ्य संग सम्बन्धित जनचेतनामुलक र्याली लगायतका बिभिन्न कार्यक्रमहरु सञ्चालन गरिएको छ।
कार्यक्रममा पालुङटार गाउँ पालिका वडानं चारका वडा अध्यक्ष मानबहादुर पौडेल, टोल विकास संस्थाका अध्यक्ष जोनी सुनार, आमा समुहकी अध्यक्ष गोमा रानाभाट लगायतले विद्यार्थीहरुद्वारा गरिएको कार्यक्रमको सरहाना गरेका थिए ।

त्यस्तै विद्यार्थीहरुले पालुङटार गाउँपालिका वडा नं चार, देवकोटा भन्ने स्थानमा स्थानीयहरुको प्रेसर जाँच, सुत्केरी महिलाको स्वास्थ्य परीक्षण गर्नुका साथै स्वास्थ्य बीमा सम्बन्धी जानकारी, धुम्रपान मद्यपानबाट हुने असरहरू, उच्च रक्तचापबाट बच्ने उपायहरु, पोषण तत्वबारे जानकारी लगायतका कार्यक्रम गरेका थिए।
सो अवसरमा देवकोटा टोल विकास संस्थाका अध्यक्ष कमल मग्रातीले समुदाय स्तरमा आएर स्वास्थ्यसंग सम्वन्धित विभिन्न विषयमा जनचेतना फैलाउने कार्यक्रम गरेकोमा विद्यार्थीहरुलाई धन्यवाद दिएको पालुङटारबाट कार्यक्रममा सहभागी विद्यार्थी अनिषा पौडेल पल्लवीले जानकारी दिईन्।














