काठमाडौं ।
सर्वोच्च अदालतमा न्यायाधीश नियुक्ति गर्दा उच्च अदालतमा काम गरेका न्यायाधीशबाट मात्रै छनोट गरी ल्याउन सरकारी वकिल समूहले माग गरेको छ । महान्यायाधिवक्ता कार्यालयमा कार्यरत सरकारी वकिल समूहको कर्मचारी संघ संगठनले सर्वोच्चको न्यायाधीश नियुक्तिमा नयाँ व्यवस्था गर्न माग गरेको हो ।
मंगलबार महान्यायाधिवक्ता कार्यालयमा कार्यरत सरकारी वकिल समूहका तीन कर्मचारी संगठनको तर्फबाट संयुक्त विज्ञप्ति जारी गर्दै यस्तो माग गरिएको हो ।
महान्यायाधिवक्ताको कार्यालय विभागीय समिति अन्तर्गत नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामतीका अध्यक्ष जीवन अधिकारी, नेपाल निजामती कर्मचारी युनियनका अध्यक्ष ताराप्रसाद ओली र नेपाल निजामती कर्मचारी संगठनका अध्यक्ष देवराज पौडेलद्वारा जारी विज्ञप्तिमा सर्वोच्च अदालत राजनीतिक भर्तीकेन्द्र र नातागोताको क्लब बन्न लागेको भन्दै चिन्ता व्यक्त गरिएको छ ।














