पोखरा ।
पोखरा महानगरपालिकाले महानगक्षेत्रका ५ जना उत्कृष्ट कृषक र १० जना ज्येष्ठ प्रर्वद्धन कृषक गरी १५ जना कृषकहरुलाई नगद सहित सम्मान गरेको छ ।
महानगरपालिकाको पशु सेवा शाखाद्वारा आयोजित कृषक सम्मान कार्यक्रममा नगरप्रमुख धनराज आचार्य र उपप्रमुख मन्जुदेवी गुरुङले ती कृषकहरूलाई संयुक्त रूपमा सम्मान प्रदान गरेका हुन् ।
उत्कृष्ट कृषक सम्मान प्राप्त गर्नेमा पोखरा १५ का भैसीपालक कृषक दीपक तिमिल्सीना, पोखरा २५ का गाई पालक कृषक धनश्याम तिमिल्सीना, पोखरा १७ का कुखुरा पालक कृषक चन्द्रकान्त बराल, पोखरा २० का बाख्रा पालक कृषक दुर्गा बहादुर गुरुङ र पोखरा १९ की बङ्गुर पालक कृषक सरस्वती बस्ताकोटी रहेका छन् ।
पोखरा महानगरपालिकाको तर्फबाट उत्कृष्ट कृषकहरूलाई कर सहित नगद १० हजार र ज्येष्ठ प्रर्वद्धक कृषकहरूलाई कर सहित ३ हजार साथमा सम्मानपत्र प्रदान गरिएको हो ।
यस्तै पाडीबाच्छी आफै हुर्काएर माउ बनाउने ५०० जना कृषकलाई ३ हजार र एक हजार पाडीबाच्छी हुर्काउनका लागि ४ हजारका दरले अनुदान उपलब्ध गराइएको छ । महानगर क्षेत्रका अपाङ्गता भएका व्यक्तिहरूलाई ८ हजारका दरले ५० जनालाई बाख्रा खरिदका लागि अनुदान समेत प्रदान गरिएको छ ।
यसैबिच पोखरा महानगरपालिकाले नेपाल मै पहिलो पटक प्रचलित कानुन अनुसार मापदण्ड पुरा गरी व्यवसाय सञ्चालन गरिरहेका मासु व्यवसायीहरूलाई वैधानिकताको परीक्षण पश्चात एकै प्रकारको बोर्ड समेत उपलब्ध गराएको छ ।
महानगरपालिकाको तर्फबाट व्यवसायीहरूको पहिचानका लागि प्रदान गरिएको एकै प्रकारको बोर्डले उनीहरूको वैधानिकता पुष्टि गर्नेछ । ७० बढी व्यवसायीहरूलाई बोर्ड सहित मासु काट्ने चक्कु, एप्रोन र टिसर्ट, बुट, पन्जा र मास्क, सरफ, फिनेल र लिजा ५–५ लिटर साथमा परिचय पत्र पनि वितरण गरिएको छ ।

पशुबध तथा मासु जाँच ऐन २०५५, पशुबध तथा मासु जाँची नियमावली २०५७, महानगरपालिका मासु जाँच निर्देशिका २०६८ तथा महानगरपालिका पशु स्वास्थ्य तथा पशु सेवा ऐन २०७७ बमोजिम आवश्यक मापदण्ड पुरा गरेका वयवसायीहरुलाई पहिलो चरणमा यस प्रकारको सहयोग गरिएको महानगर पशु सेवा शाखाका प्रमुख नवराज अधिकारीले जानकारी दिए । उनका अनुसार महानगर क्षेत्रमा करिब ६ सयको हाराहारीमा ठुला तथा साना मासु व्यवसायीहरू रहेका छन् ।
व्यवसायीहरूलाई प्रदान गरिएको बोर्ड र परिचय पत्रले सम्पूर्ण कानुनी प्रक्रियाको सुनिश्चितता गर्ने गरी आवश्यक सहजीकरण गरिएको प्रमुख आचार्यले बताए । ‘महानगरपालिकाको तर्फबाट यहाँहरूको व्यवसाय व्यवस्थित छ भन्ने कुराको सर्टिफिकेट दिएर, व्यवसायीको परिचय पत्र दिएर, अनि यो बोर्ड कस्तो छ, कुन रङको छ भन्ने कुराको समेत एकरूपता कायम गरेर महानगरपालिका भित्र यो सर्टिफाइड पसल हो अर्थात् अनुमति प्राप्त पसल हो भन्ने कुराको यकिन गरिएको छ, उनले भने, यो साउनको १ गतेभित्र आफ्नो पसलमा आवश्यक कुराहरूको प्रबन्ध गरेर हाइजेनिक बनाउने कुरामा सबै व्यवसायीहरू गम्भीर बन्नुहोला ।’
त्यसपछि महानगरपालिकाले यस प्रकारको बोर्ड नराखिएको पसलमा मासु नकिन्न सार्वजनिक आह्वान गर्न समेत बाध्य हुने उनले बताए ।
महानगर क्षेत्रका उपभोक्ताहरूको स्वास्थ्य रक्षाका लागि महानगरपालिका गम्भीर र प्रतिबद्ध रहेको कुरा उनले उल्लेख गरे । उनले अव कुनै पनि बाहानमा उपभोक्ताको स्वास्थ्य माथिको खेलबाड स्वीकार्य नहुने चेतावनी दिए। राज्यका नियमहरूको उल्लघन गरी उपभोक्ताको स्वास्थ्य माथि खेलाँची गर्नेहरू कारबाहीका लागि योग्य हुने उनको तर्क छ ।
महानगरपालिकाकी उपप्रमुख मन्जुदेवी गुरुङले महानगर क्षेत्रमा अव्यवस्थित रूपमा सञ्चालित मासु व्यवसायीहरूलाई नियमन गर्न समेत यस प्रकारको कार्यले महत्वपुर्ण सहयोग पुग्ने उनले विश्वास व्यक्त गरे। आफ्ना उपभोक्ताहरूलाई स्वास्थ्यकर मासु खुवाउने दायित्वलाई आत्मसाथ गर्दै व्यवसायीहरूले राज्यका नियमको परिधिमा रहेर मर्यादित व्यवसाय सञ्चालन गर्नुपर्नेमा महानगरको आर्थिक विकास महाशाखाका प्रमुख मनहर कडरियाले बताए ।
कार्यक्रममा सहभागी कृषकहरूले कृषि व्यवसाय र यसको प्रर्वद्धन सहित कृषकहरूको हौसला बढाउने कार्यमा महानगरपालिकाले चालेको कदमको प्रशंसा गरेका छन् । यस प्रकारका कार्यक्रमहरूको निरन्तरतामा उनीहरूको जोड छ ।














