सुदूरपश्चिमका मन्त्री सिंहसहित तीनै जनाको दाहसंस्कार शनिवार हुने

केन्द्रभाग मिडिया

कैलाली ।

सवारी दुर्घटनामा परि ज्यान गुमाएका सुदूर पश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री पृथ्वी बहादुर सिंह, उनकी पत्नी र भाउजूको दाहसंस्कार शनिवार हुने भएको छ ।

मंगलबार बझाङमा दुर्घटना हुदाँ उनीहरुको ज्यान गएको हो ।मन्त्री सिंहका जेठो कान्छा छोरा अमेरिकामा छन् । शुक्रवार सम्म उनी नेपाल आइपुग्ने र शनिवार स्वर्गीय सिंह दम्पती र उनकी भाउजूको दाहसंस्कार गरिने बझाङका सहायक प्रमुख जिल्ला अधिकारी सत्य कुमारी जोशीले जानकारी दिइन् । उनका अनुसार शनिवार सम्म उनीहरूको शव जिल्ला अस्पतालमा राखिने छ।

सिंहको पार्थिव शरीर धनगढीबाट बुधवार दिउसो हेलिकोप्टरमा बझाङ लगिएको थियो ।बुधवार बिहानदेखि श्रद्धाञ्जलीका लागि धनगढीको रङ्गशालामा राखिएको स्वर्गीय मन्त्रीको शव मुख्यमन्त्री कमल बहादुर शाह, प्रदेश सरकारका मन्त्री, स्थानीय तहका प्रमुख, सर्वसाधारण, आफन्त र पार्टीका कार्यकर्ता तथा शुभेच्छुकहरूले श्रद्धाञ्जली अर्पण गरेका थिए ।

डडेल्धुराबाट बझाङ सदरमुकाम चैनपुर आउने क्रममा मन्त्री सिंह चढेको सुपप्र। ०१००१ झ ४८० नम्बरको गाडी बझाङ केदारस्युँ गाउँपालिकाको धारछडा भन्ने ठाउँमा सडकबाट अन्दाजी ५० मिटर तल कालंगा खोला किनारमा खसेको थियो ।

मन्त्रीसहित पाँच जना सवार रहेकोमा तीन जनाको मृत्यु भइसकेको छ । मन्त्रीका पीएसओ र चालक घाइते छन् ।उनीहरूको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको छ ।

  • ७ असार २०८०, बिहीबार १०:४१ प्रकाशित