भोलिदेखि काठमाडौंका हलमा हिन्दी फिल्म रोक्दै मेयर बालेन

केन्द्रभाग मिडिया

काठमाडौं ।

भोलिदेखि काठमाडौंका मेयर बालेन्द्र साहले काठमाडौंका हलहरुमा हिन्दी फिल्म रोक्ने तयारी गरेका छन् ।

दक्षिण भारतीय चलचित्र ‘आदिपुरुष’ लाई मेयर साहले दिएको ३ दिनको अल्टिमेटम आज सकिन लाग्दासमेत चलचित्रबाट विवादित संवाद नहटाइएपछि बालेनले काठमाडौंमा भारतीय फिल्मको प्रदर्शन रोक्ने तयारी गरेका हुन् ।

महानगर स्रोतका अनुसार भोलिबाट काठमाडौंका कुनै पनि हलमा भारतीय चलचित्र चल्न दिइने छैन । काठमाडौंका हलहरुले भारतीय चलचित्रको प्रदर्शन जारी राखेमा हस्तक्षेप गर्ने महानगरको तयारी छ । बालेनले नगरप्रहरीलाई भोलि बिहानैबाट हलहरुमा परिचालन गर्ने योजना बनाएका छन् ।

बालेनले आदिपुरुषको विवादित संवाद हटाउन चलचित्र निर्मातासँग पहल गर्नका निम्ति सञ्चार मन्त्रालयलाई पत्राचार समेत गरेको थियो । तर, सञ्चार मन्त्रालयले अहिलेसम्म बालेनको सो पत्रको कुनै जवाफ दिएको छैन भने भारतीय निर्मातासँग कुनै पहल गरेको जानकारी पनि गराएको छैन । त्यसैले बालेनले आफ्नै तर्फबाट एक्सन लिने तयारी गरेका हुन् ।

संवाद सच्याउनुका साटो सो चलचित्रका लेखकले आजतकमा अन्तरवार्ता दिँदै नेपाल पहिले भारतकै एउटा हिस्सा रहेको विवादित अभिव्यक्ति दिए । उनले चलचित्रमा आफ्नो तर्फबाट भएको कमजोरी स्वीकार गरेका छैनन् ।

  • ३ असार २०८०, आईतवार १६:४७ प्रकाशित