काठमाडौंको नयाँ बसपार्कभन्दा बाहिरका टिकट काउन्टर हटाउन सुरु

केन्द्रभाग मिडिया

काठमाडौं ।

काठमाडौं महानगरपालिकाले नयाँ बसपार्कभन्दा बाहिर राखिएका सार्वजनिक यातायातका टिकट काउन्टरहरू हटाउन सुरु गरेको छ । आज बिहान बालाजु बसपार्क क्षेत्र वरपरका टिकट काउन्टर हटाइएको छ ।

टिकट काउन्टरहरु हटाउन नगर प्रहरीहरुसँगै सुरक्षाका लागि नेपाल प्रहरीको टोली पनि परिचालन गरिएको छ । नगर प्रहरीहरुले टिकट काउन्टरका बोर्ड हटाउने काम जारी राखेका छन् ।

काठमाडौं महानगरपालिकाले यसअघि सूचना जारी गरेर नयाँ बसपार्कभित्रबाट मात्रै टिकट काट्ने व्यवस्था गर्नुपर्ने भन्दै त्यसभन्दा बाहिर राखिएका सबै टिकट काउन्टर हटाउन निर्देशन दिएको थियो ।

कलंकी, गौशाला, कोटेश्वर, बालाजु, सुन्धारा लगायतका क्षेत्रमा काउन्टरहरु राखेर सार्वजनिक गाडीका टिकट बिक्री हुँदै आएका छन् ।काठमाडौँ महानगरपालिकाबाट बाहिर जाने सवारी साधन आजदेखि नयाँ बसपार्कबाट मात्रै छुट्ने महानगरले बताएको छ ।

काठमाडौँ महानगर क्षेत्रभित्रबाट उपत्यका बाहिर लामो, मध्यम तथा छोटो दुरीमा सञ्चालन हुने यात्रुवाहक सवारी साधन नयाँ बसपार्क गोङ्गबुबाट मात्रै छुट्नुपर्ने व्यवस्था कार्यान्वयन गर्ने निर्णय भएको भन्दै महानगरपालिकाले निर्देशन दिएसँगै आजदेखि लागु भएको हो ।यद्यपि लागु भएको भनिएपनि पूर्ण रुपमा कार्यान्वयन नभएको बताइएको छ ।

  • १ असार २०८०, शुक्रबार ०९:४२ प्रकाशित