पोखरामा वन रक्षक पदको परिक्षा दिने २ जना नक्कली परीक्षार्थी पक्राउ

केन्द्रभाग मिडिया

पोखरा ।
पोखरामा वन रक्षक पदको परीक्षा दिने २ जना नक्कली परीक्षार्थी पक्राउ परेका छन् ।

हिजो जेठ ३० गते मंगलबार पोखरा महानगरपालिका वडा १५ फुलवारी स्थित रहेको गण्डकी प्रहरी तालिम केन्द्रको परिसर भित्र सञ्चालन भएको परीक्षामा अर्काको नाममा परीक्षा दिन गएका दुई जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।

जिल्ला जुम्ला चन्दननाथ नगरपालिका वडा नं. ९ वयलकाटीया बस्ने वर्ष १८ वर्षीय बालक र जिल्ला जुम्ला सिन्जा गाउपालिका वडा नं.३ लुम बस्ने वर्ष २५ वर्षीय पदम बुढा अर्काको नाममा परीक्षामा सहभागि हुँदै गरेको अबस्थामा पक्राउ परेका हुन् । प्रहरीले १८ वर्षीया बालकको नाम र फोटो सार्वजनिक गरेको छैन ।
लोक सेवा आयोगको विज्ञापन नं.१४५–१५३/०७९/०८० (खुल्ला तथा समावेशी) प्रदेश वन, सेवा, जनरल फरेष्ट्रि समूह, सहायक तेस्रो तह, वन रक्षक पदको शारीरिक तन्दुरुस्ती ९शारीरिक परीक्षण, दौड, रुख चढ्ने र पौडी० परिक्षामा परीक्षार्थीहरूको कागजातहरू चेकजाँच गर्ने क्रममा उनीहरुले अर्काको नाममा परिक्षा दिने गएको भेटिएको हो ।

उनीहरुलाई चेकजाँच गर्दा परीक्षार्थीहरूको नामको सक्कल नागरिकतामा आ–आफ्नो तस्विर टाँस गरेर परीक्षामा सहभागी भएको भेटिएको कास्की प्रहरीले जनाएको छ । उनीहरुलाई पक्राउ गरी कास्की जिल्ला अदालतबाट शिक्षा ऐन सम्बन्धी मुद्दामा दिन ५ म्याद थप गरी थप अनुसन्धान प्रकृया अगाडी बढाईएको प्रहरीले जानकारी दिएको छ ।

  • ३१ जेष्ठ २०८०, बुधबार ११:२० प्रकाशित