मौसम पूर्वानुमान महाशाखा भन्छ,‘अब अधिकतम तापक्रम बढ्दैन, विस्तारै गर्मीबाट राहत मिल्छ’

केन्द्रभाग मिडिया

पोखरा।

मौसम पूर्वानुमान महाशाखाको अनुसार अब अधिकतम तापक्रम नबढ्ने देखिन्छ । तापक्रम नबढ्ने देखिएपछि अब विस्तारै बदलीको दिन बढ्ने र गर्मीबाट राहत मिल्ने महाशाखाले जनाएको छ ।

मौसमविदहरुका अनुसार आज कोशी, मधेश, बागमती र गण्डकीमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । तराईका जिल्लाहरुमा तापक्रम नबढ्ने पूर्वानुमान छ ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायुका साथै बंगालको खाडीको जलवाष्पयुक्त हावा र भारतको बिहार आसपास भएको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव छ ।

‘त्यसैले तराईका भू-भागहरूको अधिकतम तापक्रम नबढ्ने देखिन्छ,’ महाशाखाले जारी गरेको मौसमी बुलेटिनमा लेखिएको छ, ‘कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरूका साथै मधेश प्रदेश लगायत देशका बाँकी पहाडी भू-भागका एक-दुई स्थानमा मेघ(गर्जनरचट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।’

अस्ति शुक्रबार पोखरामा हालसम्मकै अधिक गर्मी महसुस भएको थियो । पोखराको तामक्रम शुक्रबार ३६ डिग्री सेल्सियस पुगेको थियो । जुन २३ वर्ष यताकै चर्को गर्मी रहेको मौसम विज्ञान विभाग पोखराले बताएको थियो ।सन् १९७९ जुन ७ मा पोखराको तापक्रम उच्चतम ३५।५ डिग्री थियो । यसवर्ष शुक्रबार जुन ९ मा ३६ डिग्री सेल्सियस पुगेको हो ।

मौसम विज्ञान विभाग पोखराको अनुसार जुन महिनामा पोखराको तापक्रमले अहिलेसम्मकै उच्च हो ।यो समाचार तयार पार्दा पोखराको तापक्रम २९ डिग्री सेल्सियस रहेको छ ।

  • २८ जेष्ठ २०८०, आईतवार १०:०८ प्रकाशित