काठमाडौं । काठमाडौंको ठमेलमा एक युवतीको हत्या भएको छ ।
काठमाडौं महानगरपालिका २६ ठमेल भगवती बहालस्थित डेरामा लिभिङ टुगेदरमा बस्दै आएकी २६ वर्षीया युवतीको कुटपिट गरी हत्या भएको खुल्न आएको छ ।६ महिनादेखि ती युवती लिभिङ टुगेदरमा बस्दै आएका थिए ।
प्रहरीका अनुसार मंगलबार दिउँसो चितवन राप्ती नगरपालिका–७ घरभई भगवती बहालस्थित सुन्दर कार्कीको चारतले घरको दोस्रो तलामा बस्दै आएकी २६ वर्षीया जेनिशा तामाङको हत्या भएको हो ।
तामाङलाई उनीसँगै लिभिङ टुगेदरमा बस्दै आएका काभ्रे धुलिखेल नगरपालिका १० का ३० वर्षीय अमर रञ्जितकारले कुटपिट गरेको र उनको महाराजगञ्जस्थित शिक्षण अस्पतालमा उपचारको क्रममा मृत्यु भएको काठमाडौं प्रहरी प्रवक्ता एसपी सीताराम रिजालले जानकारी दिएका छन् । मादक पदार्थ सेवन गरी आपसमा सामान्य विवादपछिको झै–झगडा हुँदा रञ्जितकारले तामाङलाई कुटपिट गरेको र उपचार गराउनसमेत आफैंले अस्पताल पुर्याएको पाइएको प्रहरीले जनाएको छ ।
मंगलबार दिउँसो साढे ३ बजे तामाङको उपचारका लागि महाराजगञ्जस्थित अस्पतालमा पुर्याइएको र साँझ ७ः५० बजे मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीले घटनामा संलग्न रञ्जितकारलाई मंगलबार नै पक्राउ गरेको छ । उनीमाथि प्रहरी वृत्त लैनचौरबाट आवश्यक अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।














