पोखरा इन्जिनियरिङ्ग कलेजको आर्किटेक्चर तेस्रो वर्षमा अध्ययनरत विद्यार्थीहरु नासा सम्मेलनका लागि भारत प्रस्थान गरेका छन् ।
नेशनल एशोसिएसन अफ स्टुडेन्ट अफ आर्किटेक्चर (नासा) भारतको आयोजनामा पञ्जाबको जालन्धर शहरमा यहि जेठ २६ देखि २९ गते सम्म हुन लागेको ६५औँ सम्मेलनमा सहभागी हुनका लागि पेकका विद्यार्थी भारत गएका हुन् । यस क्रममा कलेजले विद्यार्थीहरुलाई फलदाइ र सुखद यात्राको शुभकामना सहित विदाइ गरेको थियो ।
दक्षिण एसिया राष्ट्रका करिब ३०० भन्दा बढी कलेजका विद्यार्थीहरुको सहभागिता रहने उक्त सम्मेलन विषेश गरेर डिजाइन सम्बन्धि विषयबस्तु माथी केन्द्रित रहेको छ ।
प्रबुद्ध आर्किटेक्चरहरुको पनि सहभागिता रहने यस सम्मेलनमा किनोट स्पिकरका साथै, मास्टरक्लासहरु, सेमिनारहरु, साठी भन्दा बढी वर्कसप र विभिन्न सांस्कृतिक कार्यक्रम रहने विभागिय प्रमुख आ. प्रद्युम्न अधिकारीले बताए । सार्क राष्ट्र भित्रका स्नातक तह आर्किटेक्चरका करिब ४ हजार विद्यार्थीहरुको जमघट रहने सो सम्मेलन विद्यार्थीहरुको ज्ञान अभिबृद्धिको लागि एक उपयुक्त प्लेटफर्म रहेको कलेजकी प्रिन्सिपल आ. रोजना जोशीले बताए ।
नेशनल एशोसिएसन अफ स्टुडेन्ट अफ आर्किटेक्चर (नासा) भारत आर्किटेक्चर विद्यार्थीहरुको एउटा वृहद संस्था जसले हरेक वर्ष भारतका विभिन्न क्षेत्रका कलेजहरुमा यस प्रकारको सम्मेलनको आयोजना गर्ने गर्दछ ।














