आज विश्वासको मत लिदैँ मुख्यमन्त्री आचार्य: मत पाउने सम्भावना न्युन

केन्द्रभाग मिडिया

विराटनगर ।

गत शुक्रबार प्रदेशसभामा विश्वासको मत मागेका प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले आज (आइतबार )विश्वासको मत लिने भएका छन् । अल्पमतमा परेका आचार्यले विश्वासको मत पाउने सम्भावना भने न्युन रहेको छ ।

मुख्यमन्त्री आचार्यसँग बहुमत पुर्‍याउनका लागि सांसद संख्या पर्याप्त नभएका कारण उनले विश्वासको मत पाउने सम्भावना नरहेको बताइएको छ।

नेकपा एमालेका सचिव आचार्य गत भदौ १० गते मुख्यमन्त्री नियुक्त भएका थिए। आचार्य नेतृत्वको सरकार अहिले अल्पमतमा छ। उक्त प्रस्ताव असोज २५ गते नै संसद सचिवालयमा दर्ता भएको थियो।प्रस्तावमाथि आज दिउँसो १२ः३० बजे बस्ने प्रदेशसभा बैठकमा छलफल हुने बताइएको छ। छलफलपछि आजै मत विभाजन हुनेछ।

उनले विश्वासको मत नपाए मंगलबारसम्ममा प्रदेश १ ले नयाँ मुख्यमन्त्री पाउने छ। विपक्षी गठबन्धनले नेकपा (एकीकृत समाजवादी)का नेता राजेन्द्र राईलाई प्रदेशको नयाँ मुख्यमन्त्रीका रूपमा अघि सारेको छ। वर्तमान मुख्यमन्त्रीले विश्वासको मत नपाएमा प्रदेश प्रमुखले नयाँ सरकार गठनका लागि आह्वान गर्नेछन्।

  • ७ कार्तिक २०७८, आईतवार ०९:३७ प्रकाशित