काठमाडौं ।
पृथ्वी राजमार्गको पोखरा-मुग्लिन सडक विस्तारअन्तर्गत पूर्वीखण्ड कालोपत्र गर्न सुरू गरिएको छ। आयोजनाको पूर्वीखण्डको परीक्षणपछि कालोपत्र गर्न सुरू गरिएको हो।
तनहुँको आँबुखैरेनी गाउँपालिका–१ सत्रसय क्षेत्रमा कालोपत्र गर्ने काम भइरहेको पोखरा–मुग्लिन सडक योजनाका प्रमुख नरेन्द्र सुवेदीले जानकारी दिएका छन्। उनका अनुसार दुई लेनको सडकलाई चार लेन बनाउने क्रममा पहिलो चरणमा दुई लेन कालोपत्र गर्न सुरू गरिएको छ।
चालु आर्थिक वर्षमा सात किलोमिटर पूरा गर्ने गरी कालोपत्र गर्न थालिएको उनले बताए।यस खण्डमा सडक विस्तारअन्तर्गत सत्रसय क्षेत्रमा कालोपत्र र अन्य क्षेत्रमा फराकिलो बनाउने, टेवा पर्खाल लगाउने, भित्तो कटान तथा खाल्टा पुर्ने, पक्की पुल तथा कल्भर्ट निर्माणको काम भइरहेको उनले बताए।
पूर्वी खण्डको निर्माणका लागि २०७७ माघ १७ मा सम्झौता भई २०७८ वैशाख २ गतेदेखि काम सुरू भएको थियो। करिब ४१।४५ किलोमिटर यस खण्डमा तीन ठूला र चार साना पुल निर्माण गरिनेछ। पूर्वी खण्डको ठेक्का चाइना कम्युनिकेसन कन्स्ट्रक्सनले पाएको छ भने यस खण्डको म्याद २०८१ वैशाखसम्म रहेको छ।














