प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी)को गाडी सुनकोशी नदीमा खस्दा ३ जना बेपत्ता भएका छन्। एक जनाको उद्धार गरिएको छ।
सिन्धुलीको गोलञ्जोर गाउँपालिका वडा नम्बर ७ लौकुनबाट गाडी सुनकोशी नदीमा खसेको हो। सिटिइभिटीको बा १ झ ७४६७ नम्बरको गाडी शुक्रबार बिहान करिब ११:३० बजे नदीमा खसेको जनाइएको छ ।
सडकबाट करिब १ सय ५० मिटर तल नदीमा गाडी खसेको प्रहरीले जनाएको छ।गाडीमा ४ जना सवार थिए। चालक दाङको राप्ती घर भएका ३१ वर्षीय कृष्ण चौधरी घाइते छन्। उनको उद्धार गरिएको छ। उनको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ।
तीन जना भने बेपत्ता छन्।सिटिइभिटी प्रशासन महाशाखाका निर्देशक सहसचिव ५७ वर्षीय कृष्णबहादुर केसी, योजना महाशाखा निर्देशक ५६ वर्षीय यमप्रसाद भुर्तेल र विद्युत प्रशिक्षक ३२ वर्षीय भानु पौडेल बेपत्ता रहेको र खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।














