पोखरा ।
महिला पर्यटन व्यवसायी मञ्चको आयोजनामा पोखरामा डिजिटल मार्केटिङ तालिम सुरु भएको छ । तालिमको नेपाल पर्यटन वोर्ड गण्डकी प्रदेशका कार्यालय प्रमुख कासीराम भण्डारीले एक कार्यक्रमका बीच शनिबार आरम्भ गरेका हुन् । तालिम आरम्भ गर्दै उनले अबको युग नै डिजिटल भएकाले प्रविधिमा सबैले जोड दिनुपर्ने बताए ।
खासगरी पर्यटन क्षेत्रमा प्रविधिको प्रयोग आवश्यक रहेको धारणा राखे । उनले पर्यटन महिलाको क्षेमता विकासका लागि पर्यटन बोर्ड सधैं साथमा रहेको भन्दै यस्ताखालका कार्यक्रम आगामी दिनमा गर्न जरुरी रहेको बताए । ‘पर्यटन महिलाहरुको सिप विकास अझै जरुरी छ । अहिलेको युग नै प्रविधिको युग भएकाले डिजिटल माध्यमबाट नै व्यवसाय प्रवर्धन गर्ने संसारलाई क्षण भरमा नै जानकारी दिन पनि यसमा अपडेट हुनैपर्छ । पक्कैपनि तालिमले पर्यटन महिलाको क्षमतामा बृद्धि गर्नेछ । यसमा पर्यटन बोर्डको सधैंं साथ र सहयोग रहिनै रहनेछ’ उनले भने ।
कार्यक्रममा बोल्दै पोखराका पर्यटन व्यवसायीको छाता संगठन पोखरा पर्यटन परिसदका अध्यक्ष पोमनारायण श्रेष्ठले पर्यटन महिलाले सिक्ने सिप पुरुष व्यवसायीले सिक्ने भन्दा प्रभावकारी हुने अपेक्षा गरे । उनले तालिमले पोखराको पर्यटन क्षेत्रमा प्रभावकारी र सकारात्मक प्रभाव पार्ने धारणा राखे ।
महिला पर्यटन व्यवसायी मञ्च पोखराका अध्यक्ष उमादेवी भण्डारीको अध्यक्षतामा सम्पन्न उद्घाटन सत्रमा महासचि लक्ष्मी लामिछाने लगायतले बोलेका थिए । सुशीला भण्डारीको संयोजनमा भएको दुई दिनसम्म चल्ने तालिममा प्रविण अधिकारी, मनिस अमगाइँ र वर्षा भण्डारीले सहजिकरण गर्नेछन् । तालिममा ६० जना पर्यटन व्यवसायी महिला सहभागी रहेको महासचिव लक्ष्मी लामिछानेले जानकारी दिइन् ।