काठमाडौँ ।
आज त्रिभुवन विमानस्थलबाट हुने आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान प्रतिकूल मौसमका कारण प्रभावित बनेको छ ।
खराब मौसमको कारण भिजिबिलिटी कमजोर हुँदा विमानस्थलबाट हुने उडानहरु प्रभावित भएको विमानस्थल कार्यालयले जनाएको छ ।
विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीका अनुसार प्रतिकूल मौसमले भिजिबिलिटी कमजोर हुँदा अन्तर्राष्ट्रिय र आन्तरिकतर्फका विभिन्न गन्तव्यको उडान समयमै हुन सकेका छैनन् भने अन्तर्राष्ट्रियतर्फका केही जहाज आकाशमा फन्को लगाइरहेको विमानस्थलले जनाएको छ ।
कोलम्बोबाट काठमाडौँ आएको श्रीलङ्कन एयरलाइन्सको जहाज आधा घण्टादेखि आकाशमा होल्डमा छ । यस्तै मलेसियाको क्वालालम्पुरबाट आएको बाटिक एयरको जहाज पनि अहिले सिमरामाथिको आकाशमा होल्ड भएको छ । आन्तरिकतर्फ केही जहाजको उडान ढिला भएको विमानस्थलले जनाएको छ ।
हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभावले बदली र वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले काठमाडौं उपत्यकाका केही क्षेत्रमा मेघगर्जनसहित वर्षा भइरहेको बताइएको छ ।














