एनओसी कडाईबाट पछि हट्यो सरकार, अब डिप्लोमा पढ्न विदेश जान पाउने

केन्द्रभाग मिडिया

काठमाडौँ ।

एनओसीमाथिको कडाईबाट सरकार अन्तत पछि हटेको छ । सरकारले विदेश पढ्न जाने विद्यार्थीका डिप्लोमा र भाषा पढ्ने गरि जान नपाउने भन्दै एनओसीमाथिको गरेको कडाईको चौतर्फी विरोध र दबाबपछि सरकार आफ्नै निर्णयबाट पछि हट्न बाध्य भएको हो ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले वैदेशिक अध्ययन स्वीकृति सम्बन्धी निर्देशिका, २०७९ जारी गर्दै विदेश अध्ययन गर्न जान कडाई गरेको थियो ।
निर्देशिका जारी गर्दै स्नातक वा सोभन्दा माथिल्लो तहका लागि मात्र विदेश पढ्न जान पाउने व्यवस्था गरेको थियो । अब कक्षा वा सो सरहभन्दा माथिको शिक्षा पढ्नको लागि विदेश जान पाउने भएका हुन् ।

शिक्षा मन्त्रालयले गत फागुन १८ गते निर्देशिका पारित गरेको थियो । जुन चैत १९ गतेदेखि कार्यान्वयनमा आएको थियो । तर, सरकारले निर्देशिका सार्वजनिक गरेको थिएन ।

मन्त्रालयले बुधबार यसअघिको व्यवस्थालाई संशोधन गर्दै सार्वजनिक गरेको हो । यसअघि डिप्लोमा र एडभान्स डिप्लोमा पढ्नका लागि एनओसी नदिने निर्देशिका प्रावधान थियो । तर, अहिले उक्त विषय संशोधन गरेर निर्देशिका सार्वजनिक गरिएको हो ।

कक्षा १२ पछिको डिप्लोमा, एड्भान्स डिप्लोमा (स्नातक गर्नुभन्दा अघि, ब्रिजकोर्ष)गर्न जानेलाई एनओसी नदिने निर्देशिका उल्लेख थियो । तर, सरकारले उक्त निर्णय फिर्ता लिएको हो ।

विभिन्न देशहरुका कलेजहरुले सोझै स्नातक भर्ना हुन नदिने, डिप्लोमा, एडभान्स डिप्लोमा, एक वर्षे कोर्षहरु गराउने भएकोले कक्षा १२ पछिका कार्यक्रमको लागि निरन्तरता दिने पक्षमा सरकार पुगेको हो ।

निर्देशिका संशोधनसँगै विद्यार्थीहरुले डिप्लोमा तह वा सो सरहको अध्ययन तथा भाषा अध्ययनका लागि एनओसी लिन पाउने भएका छन् ।

  • १४ बैशाख २०८०, बिहीबार ०८:४९ प्रकाशित