२४ घण्टामा कहाँ कति पानी पर्‍यो?

केन्द्रभाग मिडिया

काठमाडौं ।

बंगालको खाडिमा र मध्य भारतमा रहेका न्यून चापिय प्रणाली र पश्चिमी वायु प्रणालीको संयुक्त प्रभाव नेपालमा परिरहेको छ ।

जसको कारणले आइतबारदेखि देशका अधिकांश स्थानमा पानी परिरहेको छ । अहिले पनि देशका धेरै जिल्लामा हल्का देखि मध्यम वर्षा भइरहेको छ भने यता पोखराका केही स्थानमा सिमसिम मसिनो पानी परिरहेको छ ।

मौसम पूर्वानुमान महाशाखाले पछिल्लो २४ घण्टामा कुन स्थानमा कति पानी पर्यो भनेर मापन गरेको छ ।वरिष्ठ मौसमविद्‌ प्रतिभा मानन्धरका अनुसार २४ घण्टाको अवधिमा विशेषगरी सुदूरपश्चिमका अधिकांश केन्द्रहरूमा १०० मिलिमिटरभन्दा बढी पानी परेको मापन गरिएको छ।

सोमवार बिहान ८ बजेदेखि मङ्गलवार बिहान ८ बजेसम्म २४ घण्टाको अवधिमा सबैभन्दा बढी डडेलधुरामा पानी परेको छ।डडेल्धुरामा त्यहाँको साहुखर्क भन्ने स्थानमा ३४७.८ मिलिमिटर वर्षा भएको मापन गरिएको छ।

गण्डकी प्रदेशका केही मापन केन्द्रमा पनि १०० मिलिमिटरभन्दा बढी र लुम्बिनी तथा कर्णाली प्रदेशका केही केन्द्रमा १०० मिलिमिटरभन्दा कम पानी परेको रेकर्ड गरिएको उनले बताइन्।

प्रदेश नं १ का मापन केन्द्रहरूमा ५० मिलिमिटरभन्दा बढी पानी परेको छ भने प्रदेश नं २ र वाग्मती प्रदेशका केन्द्रमा त्यसभन्दा कम वर्षा मापन गरिएको छ।

  • २ कार्तिक २०७८, मंगलवार १३:३४ प्रकाशित