पूर्वी नवलपरासी ।
पूर्वी नवलपरासीको सर्दीमा बेवारिसे अवस्थामा शक्तिशाली बम भेटिएको छ । ती बमलाई नेपाली सेनाको बम डिस्पोजल टोलीले सोमबार दिउँसो निस्क्रिय पारेको छ ।
जिल्ला प्रहरीका निमित्त प्रमुख सन्तोष ढकालका अनुसार हात्तीखोरस्थित नेपाली सेनाको वन तथा पर्यावरण गणको सैनिक टोली सर्दी पुगेर बम निस्क्रिय पारेको हो । ती बम शक्तिशाली रहेको सेनाले जनाएको छ ।
साथै माओवादी सशस्त्र द्वन्द्वका बेला ती बम यहाँ राखिएको हुनसक्ने आकलन गरिएको छ । घटनास्थलमा रहेका एक सैनिक अधिकृतका अनुसार उक्त बम एउटा डाँडाबाट अर्को डाँडामा प्रहार गर्न सकिने शक्तिशाली गोला हो । जुन मोर्टारमा राखेर लामो दूरीमा लक्षित गरेर हान्न प्रयोग हुन्छ ।
सेनाले ती बम निस्क्रिय पार्ने क्रममा निकै टाढासम्म सुनिने चर्को आवाज निस्किएको स्थानीयहरूले बताए । चार दिनअघि विनयी त्रिवेणी गाउँपालिकाको वडा नं ५ धुर्कोट भेडीगाउँको बारी खोस्रिँदा गोठालाले गाजर जस्तै देखिने ९ वटा बमको गोला फेला परेका थिए ।














