कोशी नामकरणविरुद्धको आन्दोलनका घाइतेको ज्यान गयो

केन्द्रभाग मिडिया

विराटनगर ।

कोशी प्रदेश नामकरणको विरोधको आन्दोलनमा घाईते भएका एकको उपचारको क्रममा ज्यान गएको छ । चैत ५ गते विराटनगरमा भएको आन्दोलनमा घाइते भएका पदम लिम्बू ‘लाजेहाङ्ग’ को उपचारको क्रममा ज्यान गएको हो ।

विराटनगरस्थित निषेधित क्षेत्र तोडी मुख्यमन्त्री कार्यालयअगाडि प्रदर्शन गर्न जाने क्रममा सशस्त्र प्रहरीको लाठी प्रहारबाट लिम्बू घाइते भएका थिए । टाउकोमा चोट लागेका लाजेहाङलाई बुधबार राति बान्ता गरेपछि बेहोस अवस्थामा उपचारार्थ बीपी पुर्‍याइएको थियो ।

गम्भीर घाइते धरान-१५ का पदमको शुक्रबार बिहान २।३० बजे उपचारको क्रममा मृत्यु भएको पुनः नामांकन संयुक्त संघर्ष समितिले जनाएको छ ।

घटनाको जिम्मा प्रदेश १ का ८२ जना सांसद, पार्टीहरू, मुख्यमन्त्री हिक्मत कार्की, प्रधानमन्त्री प्रचण्ड एवं नेपाल प्रहरीले लिनुपर्ने भन्दै समितिले विज्ञप्तिमार्फत लिम्बूको पदमको हत्या भएको र अनुसन्धान गर्न छानबिन आयोग गठनको माग गरेको छ । उनलाई शहीद घोषणा गर्नुपर्ने पनि माग राखिएको छ ।

बीपी प्रतिष्ठानको आईसीयूमा उपचाररत् पदमलाई थप उपचारका लागि हेलिकप्टर चार्टर गरी काठमाडौं लैजाने तयारी गरिरहेको बेला मृत्यु भएको समितिले जनाएको छ ।

  • १० चैत्र २०७९, शुक्रबार ०८:४२ प्रकाशित