काठमाडौं ।
तिब्बती शरणार्थीलाई नक्कली नेपाली नागरिकता दिलाएको आरोपमा प्रहरीले ५ जनालाई पक्राउ गरेको छ ।
प्रहरीले ५ चैतमा बबरमहलबाट झापा कचनकवलका कृष्णबहादुर कटवाल, बबरमहलकै न्यूल्केश श्रेष्ठ, मोरङ सुन्दर हरैंचाका हिरालाल शिवाकोटी, तनहुँ शुक्लगण्डकीका लोप्साङ थिन्ले र ललितपुर गोदावरीका विजय लामालाई पक्राउ गरेको हो ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एसपी सोमेन्द्र सिंह राठौरका अनुसार यो समूहले १० जना तिब्बतीलाई नेपाली नागरिकता दिलाइसकेको छ ।
पक्राउ परेका कटवाल १० वर्षदेखि नै लेखापढी कानुन व्यवसाय गर्दै आइरहेका व्यक्ति हुन् । लाइसेन्स र दर्ता विना नै लेखापढी गर्दै आएका उनले हिरालाल शिवाकोटीसमेतको सहयोगमा विभिन्न व्यक्तिको नक्कली नागरिकता, शैक्षिक प्रमाणपत्र, सवारी चालक अनुमतिपत्र, जन्मदर्ता, विवाह दर्ता, सम्बन्धविच्छेद जस्ता सरकारी कागजात कीर्ते गरेको पाइएको प्रहरीको भनाइ छ ।














