देशका अधिकांश क्षेत्रमा पानी पर्न सक्नेः भोलि हिमाली भेगमा अधिक हिमपातको सम्भावना

केन्द्रभाग मिडिया

काठमाडौं ।

आज देशका अधिकांश क्षेत्रमा पानी पर्न सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । राती परेको वर्षा अहिले रोकिए पनि दिउँसो पछि फेरि पानी पर्न सक्ने महाशाखाको अनुमान रहेको छ ।

काठमाडौं उपत्यकासहित वाग्मती प्रदेश र प्रदेश १ र २ मा अहिले पनि हल्कादेखि मध्यम वर्षा भइरहेको बताइएको छ ।

बिहानदेखि पानी पर्न सुरु भएको हो । केहीबेर पानी पर्न रोकिए पनि दिउँसो पछि फेरि पानी पर्ने सम्भावना रहेको मौसमविद् गंगा नगरकोटीले जानकारी दिए । उनका अनुसार सुदूरपश्चिम प्रदेशमा भोलि ठूलो वर्षाको सम्भावना छ ।

भोलि देशैभर पानी पर्ने अनुमान छ । भारतको ओडिसा आसपासका क्षेत्रमा बनेको न्यून चापीय प्रणाली र पश्चिमी वायुको प्रभाव परेकाले केही दिनसम्म नै पानी पर्ने मौसमविद्ले बताएका छन् ।

केही ठाउँमा मेघगर्जन र चट्याङसहितको वर्षा हुने भएकाले खेतबारीमा काम गर्दा र यात्रा गर्दा सावधानी अपनाउन मौसमविद्को सुझाव छ । अहिले देशका धेरै ठाउँमा धान पाकेकोले किसान बाली भित्र्याउन व्यस्त छन् ।

यस्तै, दशैँका लागि गाउँ घर गएकाहरु पनि काठमाण्डौ उपत्यका फर्किदै छन् । यात्रा गर्दा सडकको अवस्था बुझेर मात्रै यात्रा गर्न मौसमविद्को सुझाव छ ।

यस्तै, हिमाली जिल्लामा पनि वर्षासहित हिमपातको सम्भावना छ । आज भन्दा भोलि हिमाली जिल्लामा हिमपातको सम्भावना धेरै रहेको विभागले जनाएको छ ।

  • ३१ आश्विन २०७८, आईतवार ०९:३८ प्रकाशित