एमाले सरकारबाट बाहिरिएसगैं १६ मन्त्रालय खाली

केन्द्रभाग मिडिया

नेकपा एमालेले सरकार छाडेपछि १६ मन्त्रालय खाली भएको छ ।

नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेसगैँ एमालेका मन्त्रीहरूले आजै राजीनामा बुझाउँदै छन्। एमालेबाट प्रचण्ड सरकारमा उपप्रधानमन्त्रीसहित ८ जना मन्त्री थिए।

गत पुस १० को सहमतिअनुसार सरकारमा सामेल भएका दलहरूले सरकार छाडेपछि प्रधानमन्त्री प्रचण्डले अब १६ मन्त्रालयको जिम्मेवारी लिनुपर्ने भएको छ।

एमालेले अर्थ, कृषि, उद्योग, भूमि व्यवस्था, स्वास्थ्य, रक्षा, परराष्ट्र र महिला तथा बालबालिका मन्त्रालय लिएकोमा मन्त्रीहरू फिर्ता बोलाइसकेको छ।

यस्तै राप्रपाले ऊर्जा, सहरी विकास र कानून मन्त्रालय लिएकोमा मन्त्रीहरू फिर्ता भइसकेका छन्। राप्रपाले पनि राजनीतिक परिस्थिति बदलिएको भन्दै शनिबार सरकारबाट बाहिरिने निर्णय गरेको थियो।

रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी पनि सरकारबाट बाहिरिइसकेको छ। लामिछानेको नागरिकता मुद्दामा सर्वोच्च अदालतले उनको सांसद पद बदर गरिदिएको थियो।

प्रधानमन्त्री प्रचण्डले गृह मन्त्रालयको पनि जिम्मेवारी सम्हाल्दै आएका छन्। साथै राष्ट्रिय स्वतन्त्र पार्टीले शिक्षा, विज्ञान तथा प्रविधि, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयबाट पनि मन्त्री फिर्ता बोलाएको थियो।

रास्वपाले सरकारलाई दिएको समर्थन भने अझै कायमै राखेको छ।

  • १५ फाल्गुन २०७९, सोमबार १५:३२ प्रकाशित