पोखरा ।
नेपाली कांग्रेसले राष्ट्रपतिमा आफ्नो पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेललाई उम्मेदवार बनाउने निर्णय गरेको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा आज बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले यस्तो निर्णय गरेको हो ।
बैठकअघि सभापति शेरबहादुर देउवाले आफ्नो च्याम्बरमा राष्ट्रपतिको उम्मेदवारमा पौडेलको नाम प्रस्ताव गरेका थिए । सो प्रस्ताव अनुमोदन कार्यसम्पादन समितिको बैठकबाट भएको हो ।
यस अगाडि सत्तारुढ नेकपा माओवादी केन्द्रसहित शुक्रबार बसेको आठ दलको बैठकले कांग्रेसका उम्मेदवारलाई नै राष्ट्रपतिमा जिताउने निर्णय गर्नुका साथै उम्मेदवार कांग्रेसले नै तोक्न आग्रह गरेको थियो ।
पौडेलले आजै नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवन परिसरमा स्थापना भएको निर्वाचन अधिकृतको कार्यालयमा आफनो उम्मेदवारी दर्ता गर्नेछन् । आठ दलीय गठबन्धन बनेकाले राष्ट्रपति निर्वाचनसम्म अन्य अबस्था सृजना नभए पौडेल नै राष्ट्रपति निर्वाचित हुनेछन् ।













