जनकपुरधाम ।
मधेस प्रदेशका दलित सुकुमबासीले आजदेखि आन्दोलन सुरु गरेका छन् ।
चुरे तथा वनजंगल संरक्षण अभियानले आजदेखि जनकपुरधाममा ‘जनआवाज आन्दोलन’ सुरु गरेको हो । अभियानले घोषणा गरेको आन्दोलनअन्तर्गत सयौं दलित सुकुमबासीहरुले प्रदर्शन गर्दै मधेस प्रदेशका मुख्यमन्त्रीको कार्यालय घेरेका छन् ।
मुरलीचोकबाट प्रदर्शन सुरु गरेर चुरे तथा वन जंगल संरक्षण अभियन्ताहरु र दलित सुकुमबासीहरु मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अगाडि पुगेका थिए । उनीहरुले मुख्यमन्त्री कार्यालय घेराउ गरेका छन् । कार्यालय अगाडि ठूलो संख्यामा सुरक्षाकर्मी तैनाथ गरिएको छ । उनीहरुलाई सुरक्षाकर्मीहरुले कार्यालयको करिब २ सय मिटर अगाडि नै रोकेका छन् ।
प्रदर्शनमा सहभागीहरुले भूमिहीनलाई जग्गा देउ, दिलीप महतोलाई पर्यावरण सहिद घोषणा गर, चुरे वनजंगल संरक्षण गर, चुरे अभियन्ताहरुमाथि लगाएको झूटा मुद्दा फिर्ता गर जस्ता नारा लगाएका छन् ।
प्रदेश सरकारसँग गरिएको ७ बुँदै सम्झौता कार्यान्वयन गर्न पनि उनीहरुले माग गरेका छन् ।














