पोखरा ।
पोखराको तालचोकदेखि बेगनास तालसम्मको सडक स्तरोन्नति हुने भएको छ। केही महिनाअघि नै ठेक्का सम्झौता भए पनि विभिन्न कारणले रोकिएको सडक स्तरोन्नति अब भने विश्व बैंकको सहयोगमामा निर्माण हुन लागेको हो। महानगरले सर्वपक्षीय छलफलपछि सडक स्तरोन्नतिको काम तत्काल सुरु गर्न लागेको बताएको छ ।
पोखरा महानगरपालिकाले उक्त सडक स्तरोन्नति हुन लागेको भन्दै सडकको क्षेत्राधिकार भित्र पर्ने संरचना १५ दिनभित्र हटाउन निर्देशन दिइसकेको छ । महानगरको वडा नं. २७, ३० र ३१ मा पर्ने सडक खण्डका सडकको केन्द्रबाट दायाँ–बायाँ ५०-५० फिटभित्र पर्ने घर, टहरा, अस्थायी संरचना, खेतीपाती हटाउन महानगरले मंगलबार सूचना निकालेको छ । व्यक्तिगत प्रयोजनका सम्पूर्ण सामग्रीहरू १५ दिन भित्र हटाउन महानगरले निर्देशन दिएको हो।
विश्व वैंकको सहयोगमा यो सडक स्तरोन्नति प्रक्रिया अगाडि बढाएको पोखरा महानगरपालिका मेयर धनराज आचार्यले बताए । ‘सडक निर्माण कार्य यसअघि नै सुरु हुनुपर्ने हो तर, केही समस्या आउँदा केही समय अल्झनु पर्यो । अब चाहिँ हामी तीब्र गतिमा काम सुरु गछौं,’ मेयर आचार्यले भने ।
विश्व बैंकको आर्थिक सहयोगमा बन्न लागेको सडकको डिपिआरसमेत पहिल्यै तयार भएको हो । ३.२८ किलोमिटरको उक्त सडक चार लेनको हुने आयोजनामा उल्लेख छ । सडक दायाँबायाँ पैदल मार्ग (फुटपाथ), व्यवस्थित नाला, हरियाली, व्यवस्थित पार्किङ र सडक सौर्य बत्ती राखिने महानगरले जनाएको छ ।
सडक स्तरोन्नतिका लागि पोखरा महानगरपालिका र नेपाल सहरी सुशासन र पूर्वाधार परियोजना २०२१ मार्च ५ मा सम्झौता भएको थियो । सम्झौता १५ जुलाई २०२५ सम्म कायम रहने छ । यस खण्डमा ५ वटा पुलहरू निर्माण गरिनेछ । तीमध्ये ३ वटाचाहिँ कल्भर्ट पुल हुनेछन् ।
सडकको बीचमा १.५ मिटर चौडाइको डिभाइडर, दुवै छेउमा २.५ मिटर चौडाइको पार्किङ, दुवै छेउमा १ मिटर चौडाइको हरियाली क्षेत्र, दुवै छेउमा नालीमाथि २ मिटर चौडाइ फुटपाथ र सडकमा ४ सेमी मोटाइको अस्फाल्ट पिच गरिनेछ ।
सडक स्तरोन्नतिको काम गर्ने ठेक्का स्वच्छन्द–सपना–वल्र्डवाइड जेभी, काठमाडौंलाई प्रदान गरिएको छ ।














