पोखरा ।
गण्डकी प्रदेशमा सन् २०२२ मा मात्र ५ सय ४१ वटा मानव अधिकार उल्लंघनका घटना भएको पाइएको छ । सन् २०२१ को तुलनामा गण्डकी प्रदेशमा गत साल मानव अधिकारका घटना बढेको पाइएको हो ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र ९इन्सेक० गण्डकीले सार्वजनिक गरेको प्रतिवेदन अनुसार गण्डकीमा राज्य पक्षबाट ४० र अन्यबाट ५ सय ४१ जना मानव अधिकार उल्लंघनका घटना भएका छन् । राज्य पक्षबाट ४० पुरुष र अन्य पक्षवाट ४ सय ६३ महिला र ३८ पुरुष गरि जम्मा ५ सय ४१ जनाको मानव अधिकार उल्लंघन भएको हो ।
राज्य पक्षबाट भएका घटनामा अभिव्यक्ति, भेला तथा संगठित हुन पाउने अधिकारबाट ३३, गिरफ्तारीका घटनामा ६ र लमजुङ कारागारमा मृत्युको घटनामा १ गरी ४० जना पीडित भएको इन्सेकको प्रतिवेदनले देखाएको छ ।उक्त वर्ष सबैभन्दा बढी तनहुँमा मानव अधिकार उल्लंघन तथा ज्यादतीका घटना घटेका छन् ।
तनहुँमा राज्य पक्षवाट ८ र अन्य पक्षवाट १ सय २ जना महिला र ६ जना पुरुष गरि १ सय ८ जना पीडित भएका छन् । मनाङमा भने कुनै पनि घटना दर्ता भएको छैन ।
जुन अघिल्लो वर्ष २०२१ को तुलनामा धेरै हो । सन् २०२१ मा ४ सय ६४ वटा घटना घटेका थिए । २०२१ मा भने राज्य पक्षबाट १ महिला र ४८ पुरुष गरि ४९ र अन्य पक्षबाट महिला ४ सय ३४ र ३० पुरुष गरी ४ सय ६४ घटना घटेका थिए ।















