भैरहवा ।
भैरहवास्थित सिद्धार्थ क्रिकेट रंगशालामा जारी नेपाल टेलिकम रुपन्देही सुपरलिग क्रिकेट प्रक्रियोगिता अन्तर्गत डिभिजन ‘बी’को बिहीबारकोे खेलमा गोलपार्क क्रिकेट क्लबले सैनामैना क्रिकेट क्लबलाई एक रनले पराजित गर्दै जित निकालेको छ ।
टस जितेर पहिला ब्याटिङ गरेको गोलपार्कले निर्धारित ५० ओभरको खेलमा ३५ ओभरमा सबै विकेट गुमाउँदै १ सय ६० रनको योगफल बनायो । उसका लागि ईश्वर क्षेत्रीले ३८, आदित्य बन्जाडेले २१, प्रदीप भण्डारीले १८, गगन अधिकारीले १७ र सन्देश भण्डारीले १० रन बनाए ।
बलिङमा सैनामैनाका करण विकले ४, सुनिल पौडेलले ३, ज्ञानेश गौतमले २ र अशोक विकले १ विकेट लिए ।
प्रतिउत्तरमा १ सय ६१ रनको लक्ष्य पछ्याएको सैनामैना ३१ ओभरमा सबै विकेटको नोक्सानीमा १ सय ५९ रनमै रोकियो र १ रनले हार ब्यहोर्यो । उसका लागि विशाल रानाले ३७, करण विकले २८, विक्रम गौतमले २४, विशाल डुम्रेले १४ र बसन्त खड्काले १३ रन बनाए पनि जितका लागि पर्याप्त भएन ।
बलिङमा गोलपार्कका युवराज सुवेदी र प्रदीप भण्डारीले समान ३–३ विकेट लिए । यस्तै, नवजीवन क्षेत्रीले २ तथा आदित्य बन्जाडे र ईश्वर क्षेत्रीले १–१ विकेट लिए । गोलपार्कका युवराज सुवेदी म्यान अफ द म्याच भई एक हजार रुपैयाँ प्राप्त गरे । रुपन्देही क्रिकेट संघको आयोजनामा जारी प्रतियोगिता चैत्र ३ गतेसम्म चल्ने छ ।
प्रतियोगितामा ए डिभिजनका ८ र बी डिभिजनका १२ गरी २० टिमको सहभागिता छ । प्रतियोगितामा बिजेताले १ लाख रुपैयाँ र ट्रफी तथा उपबिजेताले ५० हजार र ट्रफी प्राप्त गर्नेछन् । प्रतियोगितामा म्यान अफ द सिरिजले १५ हजार रुपैयाँ, बेस्ट ब्याट्सम्यान, बेस्ट बलर र उदयीमान खेलाडीले जनही ५ हजार रुपैयाँ तथा प्रत्येक खेलेको म्यान अफ द म्याचले १ हजार रुपैयाँ प्राप्त गर्ने छन् ।
प्रतियोगिताको प्रमुख प्रायोजकमा नेपाल टेलिकम तथा संरक्षकमा सिद्धार्थनगर नगरपालिका छन् । प्रतियोगिता बिजेता पुरस्कार एभरेस्ट कत्था मिल तथा उपबिजेता पुरस्कार रुपन्देही क्रिकेट संघका संस्थापक अध्यक्ष एवं विके ज्वेलर्सका प्रबन्ध निर्देशक प्रेमकुमार सेन्चुरीले सौजन्य गरेका छन् ।