सफल पोखरा अन्तराष्ट्रिय म्याराथनमा झण्डै नौ हजार जना सहभागी हुने

केन्द्रभाग मिडिया

पोखरा ।
१७ औं सफल पोखरा अन्तराष्ट्रिय म्याराथनको तयारी पूरा भएको छ । नेपाल भुतपूर्व खेलाडी मञ्चले आज पोखरामा पत्रकार सम्मेलन गरी म्याराथनको तयारी पुरा भएको जानकारी दिएको हो । मञ्चले फागुन ६ गते शनिबारका लागि म्याराथनको आयोजना गरेको छ ।

विभिन्न विधामा हालसम्म झण्डै नौ हजार जनाले नाम दर्ता गराएको मञ्चले जनाएको छ । यस वर्षको खुल्ला म्यारथनमा १५० जना धावकहरु सहभागि हुने अध्यक्ष हरि पराजुलीले जानकारी दिए । त्यस्तै महिलातर्फको हाफ म्याराथनमा ३५ जना धावहरुले नाम दर्ता गराएको उनले जानकारी दिए ।

१० किलोमिटर पुरुषतर्फ एक हजार पाँच सय र महिलातर्फ छ सय जनाले नाम दर्ता गराएको आयोजकले जनाएको छ ।

५ किलोमिटर दौडमा छात्र र छात्रतर्फ २२ सय जनाले नाम दर्ता गराएका छन् । ह्विलचेयरतर्फ ३५ जना , दृष्टिविहिन दौडतर्फ ९० जना र ‘रन फर फन’तर्फ ५ हजार जनाले नाम दर्ता गराएका छन् ।

प्रतियोगितामा विदेशी १६ देशका धावक सहित नेपालका सात वटै प्रदेशबाट ३७ जिल्लाका धावकहरुले सहभागिता जनाउने छन् ।

४२.१९५ किलोमिटर म्याराथनका विजेताले ५ लाख, दोस्रो हुनेले ३ लाख र तेस्रो हुनेले २ लाख र चौथो हुनेले ३० हजार रुपैयाँ प्राप्त गर्नेछन् । यस्तै महिलातर्फको हाफ म्याराथनमा पहिलो हुनेलाई एक लाख ५० हजार , दोश्रो हुनेलाई एक लाख, तेस्रो हुनेलाई ७५ हजार र सान्तवना पुरस्कार स्वरुप १५ हजार प्रदान गरिने जनाइएको छ ।

 

  • ४ फाल्गुन २०७९, बिहीबार १४:१९ प्रकाशित