म्याग्दी ।
म्याग्दीको उत्तरी क्षेत्र हुँदै मुस्ताङलाई जोड्ने बेनी–जोमसोम सडक भोलि(सोमबार)देखि दैनिक साढे छ घण्टा बन्द हुने भएको छ ।
स्तरोन्नतिको कामलाई गति दिनका लागि बेनी–जोमसोम सडकको बेनी–गलेश्वर खण्डमा सवारी चल्ने र बन्द हुने समयतालिका बनाइएको जिल्ला प्रशासन कार्यालय म्याग्दीले जनाएको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी अर्जुन शर्माले आगामी फागुन १ देखि १५ गतेसम्म बिहान ६–८, दिउँसो ११ः३० देखि १ः३० र राति ८ः३० देखि ११ बजेसम्म सडक स्तरोन्नतिका लागि यातायात आवतजावत बन्द गरिने जानकारी दिए ।
एम्बुलेन्सलगायत अत्यावश्यक सवारीसाधनलाई सहज आवतजावत र साना सवारी डल्लेपिपल–राहुवडा–गलेश्वर वैकल्पिक मार्गको व्यवस्था मिलाइने भएको छ । सडक विस्तार र यातायात सञ्चालनसँगै हुँदा दुर्घटनाको जोखिम, यात्रुलाई सास्ती र निर्माणकार्य प्रभावित बनेपछि समयतालिका बनाएको उनले बताए ।
सम्झौतालगत्तै सडक फराकिलो बनाउन पहाड काट्ने र डिलतर्फ पर्खाल बनाउने कामलाई तीव्रता दिएको निर्माण कम्पनीका प्रतिनिधि सुवास कार्कीले बताए । पचासी जना मजदुरका साथै तीनवटा डोजर परिचालन गरिएको छ ।
दुई वर्षको अवधिमा सडकलाई ११ मिटर फराकिलो बनाएर नाली, पहिरो रोकथाम गर्न पर्खाल र खोल्सामा कल्भर्ट तथा आठ मिटर चौडाइमा कालोपत्र गरिने भएको छ ।














