न्युरोडका ठाउँ ठाउँमा डिभाइडर नराख्न व्यवसायीको दबाव

केन्द्रभाग मिडिया

पोखरा ।

पोखराको सभागृह चोक देखि चिप्लेढुंगाको वीपीचोकसम्म निर्माण गरिँदै गरेको डिभाइडर ठाउँ ठाउँमा नराख्न व्यवसायीहरुले दबाव दिएका छन् । डिभाइडर राख्दा व्यवसाय चौपट हुनेभन्दै आफू अनुकुल डिभाइडर नराख्न व्यवसायीले दवाव दिएका हुन् । पोखरा महानगरका वरिष्ठ इन्जिनियर सुरेन्द्र पौडेलले व्यवसायीले आफू अगाडि डिभाइडर नरखे हुन्थ्यो भन्ने चाहेको खुलाए । ‘दाबाव नै दिएको नभनौं । आफू अगाडि डिभाइडर नराखिदिए हुन्थ्यो भन्ने उहाँहरुको चाहना प्रकट गर्नुभएको सत्य हो’ उनले भने ।

वरिष्ठ इन्जिनियर पौडेलले डिजाइन भन्दा दायाँबायाँ संरचना नविगारिने प्रष्ट पारेका छन् । सभागृहदेखि चिप्लेढुंगा वीपी चोकसम्म ५ स्थानमा क्रस गर्ने ठाउँ राखिएको उनले जानकारी दिए । ‘डिजाइनमा ५ ठाउँमा सडक क्रस गर्ने ठाउँ डिभाइडर रहँदैनन् । त्यस भन्दा दायाँबायाँ हुँदैन’ उनले भने ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका प्रमुख प्रकाश शाहले पनि ठाउँ ठाउँमा डिभाइडर नराख्न दबाब दिइएको स्विकार गरे । ‘विभिन्न इन्ट्रेष्ट समूहले डिभाइडर ठाउँ ठाउँमा नराख्न दबाव आएको सत्य हो । हामीलाई महानगरसंग अनुरोध गरिदिनुप¥यो भन्नेढंगले कुरा आएको सत्य हो ।’ उनले भने, ‘डिभाइडरको आफ्नै कारण छ । सुरक्षाका मापदण्डहरु छन् । त्यो मापदण्डभन्दा दायाँबायाँ गर्ने कुरा हुँदैन ।’

ट्राफिक प्रमुख शाहले जिरोकिलोमिटर देखि विन्ध्यवासिनीसम्मको सडक खण्डमा पहिले राखिएको डिभाइडर विभिन्न व्यवसायीको दबावमा हटाउँदा सडक सुरक्षीत गर्न कठिनाई भएको उदाहरण दिँदै त्यस्तो अवस्था आउन नयाँबजारमा नदिइने बताए । ‘जिरो किलोमिटर देखि विन्ध्यवासिनीमा राखिएको डिभाइडर जसरी विना मापदण्ड झिक्ने काम भयो त्यसले त्यहाँ सडक असुरक्षित बनेको छ । त्यसरी डिभाइडर राख्नुको खास अर्थ हुँदैन । न्युरोडमा त्यो गल्ति दोहोरिन दिइने छैन’ उनले भने ।

निर्माणमा ढिलाई भएको छैन : इ.पौडेल

सभागृहदेखि वीपी चोकसम्मको डिभाईडर निर्माणमा ढिलाई भएको र त्यसले सवारी आवागमनमा समेत समस्या पारिरहेको स्थानीयले गुनासो गरेकाछन् । तर, महानगरका वरिष्ठ इन्जिनियर सुरेन्द्र पौडेलले निर्माणमा ढिलाई नभएको दावी गरे ।

आर्थिक नियमावली अनुसार एक करोड भन्दा बढिको लागतमा निर्माण हुने आयोजनाको अवधि कम्तिमा ६ महिना हुने उनले बताए । इ. पौडेलले २६ मंसिरमा निर्माणको कार्यादेश दिइएकोले ३१ बैशाखसम्म उक्त डिभाइडर निर्माण गर्ने समय रहेकाले ढिलाई भएको भन्न नमिल्ने जानकारी दिए ।

उनका अनुसार अहिलेसम्म उक्त डिभाइडर निर्माणको काम ३० प्रतिशत भन्दा धेरै भइसकेको छ । उक्त डिभाइडर निर्माण एक १ करोड १० लाखको लागतमा निर्माण हुँदैछ ।

  • २२ माघ २०७९, आईतवार १२:१८ प्रकाशित