पोखराका यी स्थानमा अब पार्किङ गर्न नपाइने

केन्द्रभाग मिडिया

पोखरा ।

पोखरा महानगरपालिकाले मुख्य बजारका सडक किनारमा सवारी पार्किङ गर्न रोक लगाएको छ। महानगरपालिकाले हिजो सोमबार एक सूचना जारी गर्दै बजारका मुख्य स्थानमा पार्किङ निषेध गर्ने निर्णय गरेको सूचना सार्वजनिक गरेको हो ।

जारी सूचना अनुसार अब मुख्य सहरी क्षेत्रको पृथ्वीचोक–सभागृहचोक, न्यूरोड, विपीचोक, चिप्लेढुङ्गा, महेन्द्रपुल, नयाँबजार, पृथ्वीचोक सडकखण्डमा यही माघ २३ गते सोमबारदेखि पूर्णरूपमा पार्किङ गर्न नपाइने भएको छ ।

“मुख्य सहरी क्षेत्रको सडकमा सवारीको चाप वृद्धि भई आवागमनमा समेत प्रत्यक्ष असर हुनुका साथै सहरी सौन्दर्यीकरणमा पनि असर पर्न गएको हुँदा उल्लेखित स्थानको सडक क्षेत्रमा पूर्णरूपमा पार्किङ निषेध गरिएको छ”, जारी सूचनामा भनिएको छ।

महानगरले ‘अन्डरग्राउण्ड’ पार्किङ तथा मुख्य सडकका आसपासमा पार्किङ प्रयोजनका लागि सम्याइएका खाली जग्गामा पार्किङ गर्न सकिने र ती स्थानमा पार्किङ गरेवापत महानगरले तोकेको शुल्कभन्दा बढी लिन नपाइने पनि सूचनामा उल्लेख छ ।

सानो चार पाङ्ग्रे सवारीका लागि प्रतिघण्टा ५० रुपैयाँ र मोटरसाइकल स्कुटरका लागि प्रति घण्टा १० रुपैयाँ शुल्क निर्धारण गरिएको पोखरा महानगरपालिकाका इन्जिनियर सुरेन्द्र पौडेलले जानकारी दिए ।

  • १७ माघ २०७९, मंगलवार १०:०० प्रकाशित