पोखरा ।
पृथ्वी राजमार्ग सडक विस्तार योजनालाई समयमै सम्पन्न गर्ने वातावरण बनाउन पोखरा महानगरपालिकाले सहजिकरण गर्ने भएको छ । महानगर क्षेत्र भित्र रहेको सडक खण्ड पृथ्वीचोकको चाइनापुल देखि कोत्रेसम्मको सडक खण्ड समयमै सम्पन्न गर्नका लागि महानगरले सहजिकरणका लागि समिति नै बनाएर सहजिकरण गर्ने भएको हो ।
महानगरका मेयर धनराज आचार्यले महानगरमा बुधबार सरोकारवालाहरुको बैठक राखेर आयोजना कार्यान्वयनका चुनौतीका विषयमा जानकारी लिएका छन् । उनले महानगरको तर्फबाट के कस्तो सहजिकरण गर्नुपर्छ भन्दै विद्युत, खानेपानी, टेलिकम, ट्रफिक प्रहरी र सिंचाई लगायतका सरोकारवाला पक्षलाई आ–आफ्नो काम समयमै गरिदिन अनुरोध गरेका छन् ।
उनले एक पटक एउटाले काम गर्ने र सकेपछि फेरी अर्कोले खन्ने अनि विगार्ने काम गर्न नहुने भन्दै एकीकृत रुपमै सबै काम गर्न अग्रह गरे । ‘हामीकहाँ एउटा आयोजनाले काम सकेपछि अर्कोले फेरी थाल्ने समस्या छ । जसले गर्दा सर्वसाधारणले सास्ती पाउने र काम गुणस्तर नहुने समस्या छ । अब एकैपटक सबैले आफ्ना काम समन्वय गरेर सकौं । सडक विस्तार आयोजनालाई निर्वाधरुपमा काम गर्न दिऔं । त्यसका लागि महानगरपालिकाको तर्फबाट के कस्तो सहजिकरण गर्न आवश्यक छ । त्यो गर्न हामी तयार छौं’ उनले भने ।
पृथ्वी राजमार्ग पोखरा–मुग्लिन सडक आयोजना पश्चिमका परियोजना प्रमुख अमित कुमार श्रेष्ठले पश्चिम खण्डमा ३८.८८ किलोमिटर (जामुने देखि पृथ्वी चोक स्थित चाइनापुल) लम्बाईको सडक विस्तार हुने जानकारी दिए । तनहुँ तर्फ केही काम अगाडि बढेपनि कास्की तर्फ काम अगाडि बढाउन नसकिएको उनको भनाई छ ।
यो क्षेत्र विशेष गरी कोत्रेसम्म हेर्दा २२ वटा मात्र विभिन्न खानेपानी आयोजना रहेको जानकारी दिए । त्यसको व्यवस्थापन, पोल सार्ने, घरटहराको मुआब्जा लगायतका समस्यालाई सल्टाउनुपर्ने उनले बताए । उनका अनुसार कोर पोखरा तर्फ ६ लेनको बाटो अर्थात ४६ मिटर चौडाइको बाटो बन्ने छ । त्यसमा ६/६ मिटरको दुई तर्फ सर्भिस रोड बन्नेछन् । २.४० मिटरको नाला निर्माण हुनेछ । दुबै तर्फ फुटट्रयाक निर्माण गरिने छन् ।
खानेपानी संस्थापन पोखराका प्रमुख इ. आशिष कार्कीले दुईतर्फी गरेर राजमार्गको दुबैतर्फ गरेर ४.५ किलोमिटर खानेपानी पाइप सार्नुपर्नेछ । त्यसमा एका तर्फ सार्ने र अर्को तर्फ नयाँ विस्तार गर्ने उनले बताए । त्यसका लागि बोलपत्र आह्वान भइसकेको र अबको ३ महिनामा काम सुरु भएर छिटोमा पनि काम सकिन ७ महिना लाग्ने उनले बताए ।
नेपाल विद्युत प्राधिकरण पोखरा वितरण केन्द्रका उपप्रबन्धक ऋषिकुमार वर्णवालले विद्युत पोल सार्न प्रक्रिया अगाडि बढाइएको जानकारी दिए ।
यसैबीच पोखरा महानगरपालिकाको अग्रसरतामा सडक विस्तारमा सहजिकरणक लागि समिति निर्माण भएको छ । पृथ्वी राजमार्ग पोखरा–मुग्लिन सडक आयोजना पश्चिमका परियोजना प्रमुख अमित कुमार श्रेष्ठको संयोजकत्वमा पोखरा महानगरका वरिष्ठ इन्जिनियर सुरेन्द्र पौडेल सदस्य सचिव रहनेगरी सहजिकरण समिति बनेको हो ।
समितिमा सरोकारवाला कार्यालय, नेपाल विद्युत प्राधिकरण, नेपाल टेलिकम, खानेपानी संस्थान, पोखरा विमानस्थल, सिंचाई र जिल्ला ट्राफिक प्रहरी कार्यालयलगायतका कार्यालयका प्रतिनिधि रहेका छन् ।